२८ जेठ २०८३, बिहीबार

भूकम्पको ३२ महिनापछि राहत

पुस ११, २०७४
भूकम्पको ३२ महिनापछि राहत

नुवाकोट, ११ पुस– नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको राहत सामग्रीको व्यवस्थापन लामो समयपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले व्यवस्थापन गर्न शुरु गरेको छ । 

पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री तत्कालीन समयमा वितरण स्थानको छनोटमा उत्पन्न विवादले थन्क्याएको ३२ महिनापछि सोमबारदेखि सुरक्षित व्यवस्थापन शुरु गरेको हो । 

भण्डारण गरिएको राहत विसं २०७२ को वैशाख र जेठ महिनामा प्राप्त भएको थियो । तत्कालीन समयमा प्रशासक र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो । 

भूकम्पपीडितलाई वितरण गर्न जिल्लामा आएको राहत सामग्री विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको स्थानबाट सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।  

“भूकम्पलगत्तै प्राप्त भएको रु पाँच करोडभन्दा बढी मूल्यको राहत सामग्री व्यवस्थित भण्डारणको अभाव र राखिएको लामो समयसम्म परीक्षण नहँुदा खाद्य सामग्रीको म्याद गुज्रिएको छ,” शर्माले भने, “बन्दोबस्तीका सामग्रीसमेत आधाभन्दा बढी प्रयोगविहीन अवस्थामा पुगेको पाइएकाले छनोट गर्न शुरु गरिएको छ ।” 

लामो समय चिसो भुइँमा थन्क्याएर बन्द कोठामा भण्डारण गरिएका कारण खाद्य सामग्री कुहिएको र लत्ताकपडा तथा भाडावर्तनसमेत प्रयोग गर्न नमिल्ने भएका छन् । 

भण्डारण गरिएका राहत सामग्रीमा विदेशी दाताबाट प्राप्त गुणस्तरीय टेन्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औैषधिलगायत रहेका छन् । राहत सामग्री छनोटको काम पूरा हुन एक साता लाग्ने जिल्ला समन्वय समितिका अधिकृत उपेन्द्र प्याकुरेलले जानकारी दिए । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्