२३ जेठ २०८३, शनिबार

पातुखोलामा बन्यो झोलुङ्गे पुल, बजार जान हिउँद नै कुर्नुपर्ने समस्या हट्यो

पुस ११, २०७४
पातुखोलामा बन्यो झोलुङ्गे पुल, बजार जान हिउँद नै कुर्नुपर्ने समस्या हट्यो

दाङ, ११ पुस– तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीय हर्षित भएका छन् । पातु खोलामा पुल नहँुदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातुखोलमा पुल निर्माणसँगै आफूहरुलाई सहजता भएको बताएका छन् । 

जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजनाअन्तर्गत तुल्सीपुर– ३, ७ र ९ नं वडा जोडने पातुखोलाको पातुखोला घाट झोलुङ्गे पुल निर्माणसँगै सोमबार सञ्चालनमा समेत आएको छ । “वर्षौंको पुलको सपना आज पूरा भएको छ, तुलसीपुर बजारसम्म जान हामीलाई वर्षात्को समयमा हम्मेहम्मे हुने गरेको थियो अब भने सजिलै बजारसम्म जान सकिने भयो” – स्थानीय रेश्मी वलीले भने ।  

केटाकेटीलाई विद्यालय पु¥याउन त्यतिकै समस्या थियो । वलीले भने– “अब भने ढुक्कका साथ केटाकेटी पढ्न जानपाउने छन्, कतिले त खोलामा ज्यानै जोखिममा पारेर खोला तर्नुपर्ने समस्या थियो ।” 

उनी जस्तै वृद्धा पवित्रा विकले पनि पुल निर्माणसँगै आफूहरुलाई सहजता हुनुका साथै खुशी लागेको बताइन् । “वृद्धवृद्धालाई भत्ता लिन तुलसीपुर जान समस्या थियो, बर्खा लाग्यो भने की तलबाट पुल तरेर बजार जानुपथ्र्याे होइन भने हिउँदनै पर्खनुपर्ने समस्या थियो । 

त्यसैगरी, कक्षा १ मा अध्ययन गर्ने पार्वती पुनले पनि पुल बनेसँगै आफूहरुलाई सहज भएको बताइन् । उनले अब सहजै विद्यालयसम्म जान पाउने भएकोमा आफूहरु खुशी भएको बताइन् । 

उनीहरु जस्तै यहाँका पातुखोला आसपास, डाँडा खुटी, हरेवास, नाउला, बल्ले, दमारगाउँ, चिसापानीका करिब एक हजारभन्दा बढी घरधुरीलाई सहजता भएको स्थानीयले बताए ।  

सेवा प्रतिष्ठान नेपालको रु ४५ लाख, जिल्ला समन्वय समितिको रु दुई लाख आठ हजार, समुदायको रु एक लाख बराबर श्रमदान र नगरपालिकाको रु एक लाख गरी झण्डै रु ५० लाख १७ हजारमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर विकले बताए । पुल ७० मिटर लामो रहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्