२३ जेठ २०८३, शनिबार

जाडोमा ओठ किन फुट्छ ? कसरी सुरक्षा गर्ने ?

जाडोमा ओठ किन फुट्छ ? कसरी सुरक्षा गर्ने ?

काठमाडौं, ११ पुस — जाडो लागेपछि शरीर सुक्खा हुन थाल्छ अनि ओठ पनि फुट्न थाल्छ । ओठ शरीरको संवेदनशील अंग हो र यसलाई विशेष स्याहार गर्नुपर्छ । यहाँ हामी ओठ फुट्ने कारण र त्यसबाट बच्ने उपाय बताउँदैछौं । 

ओठ चबाउँदा, ओठका मृत छालालाई दाँतले हटाउँदा अनि ओठमा जिभ्रो घुमाएर तिनीहरूलाई नरम बनाउन खोज्दा तपाईं ओठलाई हानि पु–याइरहेको हुनुुहुन्छ । यस्ता बानीले ओठलाई रुखो र मृत बनाउनुहुन्छ अनि ओठमा घाउ पनि लगाउनुहुन्छ । यस्तो बानी त्यागिहाल्नुस् । 

ओठमा चिपस्टिक नलगाइकन घाममा निस्कँदा ओठ फुट्ने सम्भावना हुन्छ । घामका कारण ओठ सुकेर फुट्ने सम्भावना रहन्छ । 

ओठमा सिबेसियस ग्ल्यान्ड र हेयर फोलिकल नहुने भएकाले शरीरको अन्य भाग जस्तो गरी यो नरम रहन पाउँदैन । अनि ओठमा मेलेनिन पनि हुँदैन । छालाका अन्य भागमा मेलेनिनले सूर्यको परावैजनी किरणबाट बचाउँछ तर ओठ बच्न पाउँदैन । त्यसैले घरबाहिर निस्कँदा नरमपना कायम राख्ने र पोषण दिने बाम अवश्य लगाउनुस् । 

शरीरमा पानीको कमी भयो भने पनि ओठ फुट्छ । त्यसैले प्रशस्त पानी पिउने गर्नुस् । 

कहिलेकाहीँ रुघा लाग्दा नाक बन्द भएर मुखबाट सास फेर्नुपर्ने हुन्छ । सासको हावा ओठ भएर गुज्रँदा पनि ओठको नरमपन हट्छ र फुट्न थाल्छ । सुत्दाखेरी घुर्ने मानिसलाई पनि यस्तो समस्या हुन्छ । 

आइरन र भिटामिन बीको कमी भएमा, एलर्जी र फंगल संक्रमण भएमा अनि रोगप्रतिरोधात्मक क्षमता कमजोर भएमा पनि ओठ फुट्छ । 

ओठ फुट्ने समस्याबाट मुक्ति पाउन यी घरेलु उपाय अपनाउनुस् :

बिहानीपख वा राति सुत्दाखेरी नाइटोमा मनतातो सर्स्युँको तेल लगाएमा ओठलाई नरम बनाउन सकिन्छ । 

जाडोमा ओठ फुट्दा दूधको तरमा बेसारको धूलो मिसाएर बिहानबेलुका हातले हलुका मालिश गर्दा पनि ओठ फुट्न पाउँदैन । 

गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ । 

दूधबाट निस्कने मक्खनमा केसर मिसाएर ओठमा लगाउँदा पनि ओठ गुलाफी र नरम हुन्छ । 

दिनदिनै बिहानबेलुका बदामको तेल ओठमा लगाउँदा पनि ओठ फुट्न पाउँदैन र नरम रहन्छ । 

सर्स्युँको तेलमा बेसारको धूलो मिसाएर बिहानबेलुका ओठ र नाइटोमा दल्नुभयो भने ओठ फुट्न बन्द हुन्छ । 

घिउमा अलिकति नून मिसाएर ओठमा दल्ने गर्नुभयो भने पनि फुटेको ओठ सामान्य अवस्थामा फर्कन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्