११ साउन २०८३, सोमबार

प्रविधिलाई आत्मसाथ गर्न नसक्दा मुलुक आर्थिक रूपमा पछि परिरहेको छ- उपाध्यक्ष श्रेष्ठ

माघ ३, २०८२
बुटवल
प्रविधिलाई आत्मसाथ गर्न नसक्दा मुलुक आर्थिक रूपमा पछि परिरहेको छ- उपाध्यक्ष श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले प्रविधिमा आएको तीव्र परिवर्तनलाई नेपालले समयमै आत्मसाथ गर्न नसक्दा मुलुक आर्थिक रूपमा पछि परिरहेको बताए । 

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको वार्षिक साधारणसभा तथा हीरक जयन्ती उत्सवको शनिबार उद्घाटन गर्दै उनले विश्व परिवेशमा देखिएको आर्थिक तथा राजनीतिक परिवर्तनले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको उल्लेख गरे । 

उनले विकास त भएको तर सन्तोषजनक नभएको उल्लेख गरे । ‘दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल नगरेसम्म नेपाल धनी मुलुक बन्न सक्दैन,’ उनले भने, ‘योजनाले लक्ष्य गरेअनुसारको उपलब्धि हासिल हुन नसकेको यथार्थ स्वीकार गर्नुपर्छ ।’ 

उपाध्यक्ष श्रेष्ठका अनुसार १६ औं योजनाले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको भए पनि राजनीतिक अस्थिरता र कर्मचारीतन्त्रको अस्थिरताका कारण उक्त लक्ष्य हासिल गर्न चुनौतीपूर्ण छ । 

‘बारम्बार कर्मचारी परिवर्तन हुँदा कसरी क्षमता वृद्धि हुन्छ ?’, उनले भने । नीति र योजनालाई निरन्तरता दिने सकारात्मक सोच विकास गर्नुपर्ने उनको भनाइ छ । 

सरकार र निजी क्षेत्रबीचको दूरीप्रति चिन्ता व्यक्त गर्दै उनले दुवै क्षेत्र एक–अर्कालाई नबुझ्ने अवस्था विद्यमान रहेको बताए । 

‘सरकार र निजी क्षेत्र एउटै डुंगाका यात्री हुन्,’ उनले भने,‘सहकार्य नगरी लक्ष्य हासिल हुन सक्दैन ।’ 

स्वदेशी वस्तुको उपभोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ठूलो योगदान पुग्ने उल्लेख गर्दै कृषि, उद्योग र व्यापारमा प्रविधिको प्रयोग अपरिहार्य भइसकेको उनको धारणा थियो । 

कार्यक्रममा उद्योगी दीपक मल्होत्राले निजी क्षेत्रमैत्री नीति, स्थिर सरकार र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने बताए । 

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले प्रदेशको औद्योगिक विकासका लागि पूर्वाधार, ऊर्जा र नीतिगत स्थायित्व आवश्यक रहेको उल्लेख गरे । 

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले चेम्बरले निजी क्षेत्रको आवाज बुलन्द गर्दै सरकारसँग समन्वय गरेर आर्थिक विकासमा योगदान दिँदै आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्