
झापा क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालय दमकमा मंगलबार एउटा निकै रोचक र घोचपेचपूर्ण दृश्य देखियो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता रञ्जित तामाङबीच घोचपेचपूर्ण सवाल-जवाफ भयो ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि रास्वपालाई ११ बजे, एमालेलाई १२ बजे र नेकपालाई १ बजेको समय दिएको भए पनि रास्वपा उम्मेदवार बालेन्द्र शाहको ढिलाइका कारण सबैको समय तालिका बिथोलिएको थियो ।
रास्वपाका उम्मेदवार शाह तामझामसहित ढिलोगरी निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
रास्वपाको ढिलाइले गर्दा एमाले अध्यक्ष ओली र नेकपाका उम्मेदवार तामाङको समय एकैपटक जुध्न पुग्यो । करिब १:३० बजेतिर तामाङ र ओलीको निर्वाचन कार्यालयकै परिसरमा भेट भयो ।
ओली र तामाङको भेटको मेसो भने प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले मिलाएका थिए । पाण्डेले तामाङलाई नेकपाको उम्मेदवारका रूपमा ओलीसँग परिचय गराइदिएपछि दुई नेताबीच रोचक संवाद शुरू भएको थियो ।
ओलीले तामाङलाई देख्नेबित्तिकै सोधे, ‘ए बाबु पनि उम्मेदवार हो ?’ तामाङले शालीनतापूर्वक जवाफ दिए, ‘हो, २०७४ मा तपाईंलाई चुनाव जिताउन भोट मागेको थिएँ, अहिले मैदानमा आफैं आएँ ।’
त्यसपछि ओलीले उम्मेदवारी फिर्ता लिन सुझाव दिँदै भने, ‘अझै पनि उम्मेदवारी फिर्ताको समय छ, विचार गर्दा हुन्छ ।’
त्यसपछि तामाङले कडा जवाफ फर्काए, ‘तपाईंले २०७४ को जनमतको सम्मान गर्न सक्नुभएन, त्यसैले युवा आवाजको सम्बोधन गर्न म मैदानमा आएको हुँ । तपाईंको उमेर पनि अब भत्ता खाएर आराम गर्ने भइसक्यो ।’
आफ्नो उमेरको कुरा आएपछि ओली तामाङसँग रिसाए । उनले चुनौती दिँदै भने,‘पञ्जा लडाइ खेल्ने हो ?’
तामाङले भने व्यङ्ग्यात्मक जवाफ दिए, ‘नमस्कार ! जेष्ठ नागरिकसँग कुस्ती खेल्ने मेरो संस्कार छैन ।’
त्यसपछि दुवै नेता आ-आफ्नो बाटो लागे ।