१० साउन २०८३, आइतबार
रेस्क्यूका नाममा असुली

फेक रेस्क्यूको भित्री कहानी: हेली कम्पनीदेखि अस्पतालसम्मको मिलेमतोमा धन्दा

पर्वतारोहीको बिमाबापत तीन वर्षमा झण्डै २० मिलियन अमेरिकी डलर असुली
माघ १२, २०८२
काठमाडौं
फेक रेस्क्यूको भित्री कहानी: हेली कम्पनीदेखि अस्पतालसम्मको मिलेमतोमा धन्दा

तीनजना पर्वतारोहीको स्वास्थ्यमा समस्या आएको भन्दै बिहानको ११:१५ मा काठमाडौंबाट लुक्लाका लागि हेलिकप्टर उड्यो । १२:०० बजे लुक्ला पुग्यो । १२:२२ मा डिम्बोचेका लागि उड्यो । १२:४० मा डिम्बोचेबाट लुक्लाका लागि उड्यो । त्यहाँबाट बिरामी बोकेर १२:५५ लुक्ला आइपुग्यो । लुक्लाबाट १:१५ मा काठमाडौंका लागि उड्यो । काठमाडौंमा अपराह्न दुई बजे आइपुग्यो । २:२० मा बिरामीलाई अस्पतालमा पठाइयो ।

यो उडान तालिकाअनुसार काठमाडौं ल्याइएका तीन पर्वतारोहीबाट बिमाबापत क्रमश: तीन हजार एक सय २५ अमेरिकी डलर, तीन हजार एक सय २४ अमेरिकी डलर र चार हजार ७ सय २३ अमेरिकी डलर बिमाबापत भुक्तानी लिएको देखिन्छ । जबकि लुक्लाबाट काठमाडौं एउटा चार्टर्ड फ्लाइटको अधिकतम दुई हजार २५ अमेरिकी डलर पर्छ । लुक्लाबाट रेस्क्यूका नाममा बिरामीलाई काठमाडौं ल्याएपछि बिमा दाबी गर्न अनिवार्य अस्पताल पठाउनुपर्छ । अस्पताल पठाइएपछि यी तीनजना विदेशीबाट उपचारबापत ५ हजार २ सय ८८ अमेरिकी डलर बिमा दाबी लिइयो ।

एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्ट प्रालिले गरेको यो धन्दाको पर्दाफास केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको हो । यसरी रेस्क्यूका नाममा विभिन्न रेस्क्यू कम्पनीले विदेशी पर्वतारोहीमाथि गरेको ‘फेक रेस्क्यू’को यो एउटा उदाहरण मात्रै हो । एभरेस्टले माथि यो उडान तालिका समेटिएका विदेशी पर्वतारोहीलाई रेस्क्यूका नाममा यस्तोसम्म धन्दा गरेको छ कि तीनजना बिरामी पर्वतारोहीलाई एउटै चार्टर्ड हेलिकप्टरमा ल्याएर फरक–फरक ‘प्यासेन्जर एन्ड कार्गो मेनिफेस्ट’ बनाएर बिमा रकम दाबी गरेको देखिन्छ ।

null

एभरेस्टले माथिका तीनजना विदेशी पर्वतारोहीलाई ल्याएको हेलिकप्टरमै त्यसअघि अन्य तीनजना पर्वतारोहीलाई काठमाडौंसम्म ल्याएको विवरण तयार गरेर बिमा रकम बुझेको देखिएको छ ।

एकै मितिमा समय फरक पारेर बिमा भुक्तानी दाबी गरिएको छ । एभरेस्टले शुरूका तीन विदेशीलाई काठमाडौंबाट लुक्ला लैजान बिहान १०:१५ बजे हेलिकप्टर उडेको देखाएको छ । ११:०० बजे त्यो हेलिकप्टर लुक्ला पुग्छ । ११:२२ मा लुक्लाबाट गोरखबेसका लागि उड्छ । ११:३७ मा गोरखबेस पुगेको हेलिकप्टर ११:४०० मा लुक्लाका लागि उड्छ । लुक्लामा ११:५५ मा आइपुग्छ । लुक्लाबाट १२:१५ मा काठमाडौंका लागि उड्छ र एक बजे काठमाडौं आइपुग्छ । काठमाडौं आइपुगेपछि अस्पतालका लागि ११:२० मा पर्वतारोहीलाई पठाइन्छ । अनि बिमा रकम बुझ्छ । सीआईबीका एक अनुसन्धान अधिकृतले भने, ‘एउटै हेलिकप्टर कसरी १०:१५ र ११:१५ मा लुक्लाका लागि उड्न सक्छ ? जबकि एभरेस्टले बनाएको मेनिफेस्ट अनुसार फरक–फरक पर्वतारोहीको उद्धार गरेको देखिन्छ, यो सम्भव छैन ।’

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार एभरेस्टले चार्टर्ड फ्लाइटलाई रेस्क्यूमा ‘कन्भर्ट’ गरेर बिमाबापत भुक्तानी बुझेको देखिन्छ ।

रेस्क्यू फ्लाइट गर्दा एकजना बिरामीलाई मात्रै हेलीमा समेट्नुपर्नेमा एभरेस्टले उल्टै हेली चार्टर गरेर काठमाडौं ल्याएको देखिन्छ ।

null

सीआईबीले पर्दाफास गरेका कम्पनीमध्ये नेपाल चार्टर्ड सर्भिस प्रालिले त चारजना विदेशी नागरिकलाई एभरेस्टकै जस्तो चलाखी अपनाएर बिमा रकम हत्याएको देखिन्छ । एक नेपाली र चार विदेशीलाई चारवटा फ्लाइट गरेर रेस्क्यू गर्नुपर्नेमा चार्टर गरेर एउटै हेलीमा ल्याएको देखिएको छ । लुक्लाको यात्रुको मेनिफेस्ट बनाएर चार्टर्ड हेलीमार्फत काठमाडौं ल्याइएका चार विदेशीबाट नेपाल चार्टर्ड एभरेस्टले क्रमश: सात हजार ८ सय, चार हजार पाँच सय, ९ हजार चार सय र ९ हजार चार सय अमेरिकी डलर बिमाबापत असुलेको देखिन्छ । तीन जनाबाट ३१ हजार अमेरिकी डलर बिमाबापत बुझेको नेपाल चार्टर्डले अस्पताल पुर्‍याएर ११ हजार ८ सय ९० डलर अतिरिक्त बिमा बुझेको सीआईबीको अनुसन्धानले देखाएको छ । तर, यी चारैजना साँच्चिकैका बिरामी भने होइनन् । सीआइबीले भन्यो, ‘सामान्य लेक लागेकालाई तीन सयदेखि ५ सय मिटर तल पैदल झारेछि आफैैँ नर्मल अवस्थामा आउँछन्, तर एभरेस्टले बिमा रकम हत्याउन पर्वतारोहीलाई जबर्जस्ती रेस्क्यूका नाममा हेलिकप्टर प्रयोग गर्न बाध्य पारेको देखिन्छ ।’

माथिका चार जनामध्ये दुईजना श्रीमान–श्रीमती हुन् । चार जनालाई छुट्टा–छुट्टै रेस्क्यू गरेको बिल तयार गरेर बिमा दाबी गरिएको थियो । ‘यतिसम्म गरिएको भेटियो कि चार्टर्ड हेलीको मेनिफेस्ट बनाउँदा फरक–फरक हस्ताक्षर गरेको देखिन्छ,’ सीआईबीका अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘रेस्क्यू कम्पनीहरूले पहिल्यै पर्वतारोहीहरूको बिमा पोलिसी छ कि छैन हेर्ने र रहेछ भने कसरी फेक रेस्क्यू गर्न सकिन्छ भनेर दाउ हेर्ने गरेको देखियो ।’

सीआईबीका अनुसार यो घटनामा पूर्णरूपमा पीडित बिमा कम्पनीहरू छन् । रेस्क्यू कम्पनीसँग अस्पतालको समेत मिलेमतो देखिन्छ । अस्पतालको नाम नबताउने सर्तमा सीआईबीका ती अनुसन्धान अधिकृतले भने, ‘सीमित अस्पतालसँग सेटिङमा बिरामी भन्दै पर्वतारोहीलाई पुर्‍याउने र कागजात बनाएर बिमा रकम भुक्तानी बुझ्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’

null

२०२२ यता तीन सयको हाराहारी रेस्क्यू

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार सन् २०२२ देखि यता माउन्टेन रेस्क्यू प्रालि, एभरेस्ट एक्सपिरियन्स र नेपाल चार्टर्डले तीन सयको हाराहारीमा पर्वतारोहीलाई बिरामी भन्दै रेस्क्यू गरेको देखिन्छ । प्रारम्भिक छानबिनका क्रममा हालसम्म यी कम्पनीले बिमा दाबीबापत १९.७९ मिलियन अमेरिकी डलर (झण्डै ३ अर्ब नेपाली रुपैयाँ) बुझेको देखिन्छ ।

एसएसपी श्रेष्ठले लोकान्तरसँग भने, ‘नेपालको अन्तर्राष्ट्रिय छविमा समेत आँच पुर्‍याउने गरी रेस्क्यू कम्पनीहरूले अनधिकृत रूपमा विदेशी पर्वतारोहीबाट बिमा रकम भुक्तानी बुझिरहेको देखिएपछि चार महिना लामो अनुसन्धान गरेर तीनवटा कम्पनीका सञ्चालक र प्रबन्धकलाई नियन्त्रणमा लिएका हौं, अझै अनुसन्धान जारी छ ।’​

null

माउन्टेन रेस्क्यूका सञ्चालक जयराम रिजाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एन्ड एसेस्टका सञ्चालक मुक्ति पाण्डे र प्रबन्धक सुभाष केसीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्