
स्वास्थ्य बीमा बोर्डले अनावश्यक रूपमा प्रेषण नगर्न अनुरोध गरेको छ । बिहीबार बोर्डले सूचना जारी गर्दै आफ्नो संस्थामा भइरहेको सेवालाई नजर अन्दाज गरी प्रेषण नगर्न अनुरोध गरेको हो ।
सूचनामा भनिएको छ,‛स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी सेवा प्रदान गरिरहेका सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा सेवा पर्याप्त हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गर्नुपर्नेमा स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रेषण कार्यविधि, २०८० विपरीत अनावश्यक रूपमा प्रेषण गरेको पाइएकोले आफ्नो संस्थामा भइरहेको सेवालाई नजर अन्दाज गरी प्रेषण नगर्नुहुन अनुरोध छ ।’
बोर्डले सेवा उपलब्ध गराउन नसक्ने भएमा सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा प्रेषण गर्न समेत अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ,‛अनावश्यक प्रेषण गरेको पाइएमा दाबी मुल्याङ्कन तथा रुजु गर्दा त्यस्तो रकम सोधभर्ना नगरिने साथै स्वास्थ्य बीमा नियमावली २०७५ अनुसूची ८ को ४ (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुने ब्यहोरा समेत निर्णयानुसार जानकारी गरिन्छ ।’