०२ असार २०८३, मंगलबार

सशस्त्र प्रहरीको प्रधान कार्यालयमा लागेको आगलागी नयाँ मोडमा,  उच्च अधिकारीकै संलग्नता ?

पुस १३, २०७४
सशस्त्र प्रहरीको प्रधान कार्यालयमा लागेको आगलागी नयाँ मोडमा,  उच्च अधिकारीकै संलग्नता ?

काठमाडौं, १३ पुस- गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको लेखा शाखामा भएको आगलागीबारे २४ घन्टाभित्र यथार्थ जानकारी दिन आदेश दिएको छ। 
मन्त्रालयले बुधबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयलाई पत्र लेखी आगलागीको घटनामा उच्च तहका अधिकारीको समेत संलग्नताबारे विभिन्न तथ्य सार्वजनिक हुन थालेकाले गहन छानबिन गरी २४ घन्टाभित्र सत्यतथ्य जवाफ पठाउन भनेको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण शर्मा दुवाडीले घटनाको यथार्थबारे जानकारी माग्दै पत्र पठाएको बताए। ‘घटनामा सशस्त्रका उच्च तहका अधिकारीको समेत संलग्नता रहेको तथ्य सार्वजनिक हुन थालेकाले वास्तविकता पेस गर्न भनेका हौं', उनले भने।

गृह मन्त्रालय आफैँले पनि सहसचिव कृष्णबहादुर रावतको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी गहन अनुसन्धान सुरु गरेको छ। प्रवक्ता दुवाडीले सशस्त्र मुख्यालयमा आगो लगाउनु गम्भीर विषय भएकाले गम्भीरतासाथ छानबिन हुने बताए।

यसै विषयमा बृहत् छलफल गर्न बुधबार गृहसचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा सहसचिव तथा उच्च अधिकारीसहितको बैठक बसेको थियो। बैठकमा गृह मन्त्रालयका केही उच्च अधिकारीले सशस्त्र प्रहरीको उच्च नेतृत्व नै दोषी हुन सक्ने भएकाले उनीहरूलाई निलम्बन गरी सूक्ष्म छानबिन गर्न सुझाएका थिए। सशस्त्रको पछिल्लो खरिद प्रक्रियामा ठूलो मात्रामा अनियमितता भएकाले त्यसबाट बच्न खरिद प्रक्रियामा संलग्न उच्च अधिकारीकै योजनामा यस्तो घटना घटाइएको आशंका गृहका अधिकारीहरूले गरेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्