
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू औपचारिक रूपमा घरदैलोमा नपुगे पनि मकवानपुरको
हेटौंडा बजारदेखि दामन र टिस्टुङको शिखरसम्मै चुनावी हावा जोडतोडले चल्न थालिसकेको छ । मकवानपुर क्षेत्र नम्बर
२ अन्तर्गत पर्ने यो भूगोलमा १६ जना दलीय र ५ स्वतन्त्रसहित २१ उम्मेदवार छन् ।
नेकपा (एमाले)ले अघिल्लोपटक पाँच दलको गठबन्धनविरुद्ध एक्लै भिडेर जीत हात पारेका युवा नेता महेशकुमार बर्तौलालाई नै अगाडि सारेको छ । नेपाली कांग्रेसबाट बुद्ध लामा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट लवशेर विष्ट र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रशान्त उप्रेती चुनावी मैदानमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीले सन्तोष विष्ट, श्रम संस्कृति पार्टीले युनेश लामा सिंतान र उज्यालो नेपाल पार्टीले प्रवीनकुमार स्याङ्तानलाई उम्मेदवार बनाएका छन् । अन्य दलीय र स्वतन्त्र उम्मेदवा समेत मैदानमा रहे पनि मुख्य चर्चा प्रमुख चार दल (कांग्रेस, एमाले, नेकपा र रास्वपा)कै सुनिन्छ ।
मकवानपुरका १०२ मध्ये ६२ वटा वडा यो क्षेत्रमा पर्छन्, त्यसमध्ये हेटौंडा उपमहानगरपालिकाका ४ वटा वडा मात्रै यसमा समेटिएका छन् । हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, ३, ११ र १९, मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, मनहरि गाउँपालिका, राक्सिराङ गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाका सबै वडा मकवानपुर २ मा पर्छन् ।
हेटौंडा बजार क्षेत्रको थोरै भूगोललाई छाड्ने हो भने यो सबै ग्रामीण इलाका हो । मतदाताको हिसाबले थाहा नगरपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिकालगायत अग्रणी छन् । कैलाश र राक्सिराङको जनजाति भोटले पनि यो क्षेत्रको चुनावी गणितमा ठूलै अर्थ राख्ने गर्छ ।
यसअघिको मत विश्लेषण
प्रतिनिधिसभा निर्वाचन २०७९ मा यस क्षेत्रबाट निर्वाचित एमाले उम्मेदवार महेश बर्तौलाले ३४ हजार ९५० मत ल्याएका थिए । उनका निकटतम् प्रतिस्पर्धी तत्कालीन नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले ३० हजार ४३२ मत पाएका थिए । त्यतिबेला बर्तौला एमालेको एकल बलबुतामा चुनाव लडेका थिए भने खतिवडालाई कांग्रेस, तत्कालीन माओवादी केन्द्रलगायत ५ दलको समर्थन थियो ।
यो क्षेत्रबाट बर्तौला र खतिवडाका अलावा रास्वपाका भरत पराजुलीले १२ हजार ५९ र राप्रपाका राजन मैनालीले २ हजार १९६ मत पाएका थिए ।
प्रदेशतर्फ २(१) की गठबन्धन उम्मेदवार एवं तत्कालीन माओवादी केन्द्रकी नेतृ कुमारी मुक्तानले १९ हजार ९०६ मत पाउँदा एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५८० मत पाएका थिए । यस्तै, २(२)मा गठबन्धन उम्मेदवार कांग्रेसका इन्द्र बानियाँले १८ हजार ७३१ मत पाउँदा एमालेका लालबहादुर थापाले १६ हजार ९४४ मत पाएका थिए ।
२०७९ को समानुपातिक मतका आधारमा एमाले सबैभन्दा बलियो देखिन्छ । गत चुनावमा एमालेले २८ हजार २४६ मत पाउँदा कांग्रेसले २१ हजार ५६०, माओवादी केन्द्रले १३ हजार ०१३, रास्वपाले ११ हजार २९७ र राप्रपाले ३ हजार ०४१ मत पाएका थिए ।

स्थानीय तहतर्फ थाहा नगरपालिकाको प्रमुखमा तत्कालीन माओवादी केन्द्रका विष्णुबहादुर विष्ट ९ हजार ७९१ मत ल्याएर विजयी हुँदा एमालेका अचुतमप्रसाद ढकालले ७ हजार ७७१ मत पाएका थिए । उपप्रमुखमा कांग्रेसका भरत गोपाल ८ हजार ६०७ मत ल्याएर विजयी हुँदा एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत पाएकी थिइन् । वडातर्फ १२ मध्ये ६ वटामा माओवादी तथा ३/३ वटामा कांग्रेस र एमाले विजयी भएका थिए । पालिका प्रमुख-उपप्रमुख तथा केही वडामा कांग्रेस-माओवादीलगायतको तालमेल थियो ।
यसैगरी, कैलाश गाउँपालिका अध्यक्षमा कांग्रेसका लोकबहादुरमुक्तान ४ हजार ८९७ मत ल्याएर विजयी हुँदा एमालेका नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत पाएका थिए । उपाध्यक्षमा माओवादीका बालकुमार मल्ल ठकुरी ४ हजार ८८ मत ल्याएर विजयी हुँदा एमालेकी सुकुमाया थिङले ३ हजर ९३५ मत पाएकी थिइन् ।
वडातर्फ कूल १० मध्ये ५ वटा वडामा कांग्रेस, ३ वटामा एमाले र २ वटामा माओवादीले जितेका थिए ।
मनहरि गाउँपालिकामा कांग्रेसका रञ्जन कालाखेती ९ हजार ३६६ मत ल्याएर अध्यक्षमा विजयी हुँदा एमालेका एकराज उप्रेतीले ४ हजार ९७० मत पाएका थिए । उपाध्यक्षमा गठबन्धन उम्मेदवार माओवादीकी सीता पुलामीले ६ हजार ४७० मत पाउँदा एमालेकी सुजिता थिङले ५ हजार ४५४ मत पाएकी थिइन् ।
वडातर्फ कूल ९ मध्ये ६ वटामा कांग्रेस र ३ वटामा माओवादीले जीत हात पारेका थिए ।
मकवानपुर २ मै पर्ने अर्को गाउँपालिका भीमफेदीको अध्यक्षमा एमालेका हिदम लामा ५ हजार ५९१ मत ल्याएर विजयी हुँदा माओवादीका बद्रीबहादुर स्याङ्तानले ५ हजार २०९ मत पाएका थिए । उपाध्यक्षमा कांग्रेसका सञ्जीव श्रेष्ठ ५ हजार ३१५ मत ल्याएर विजयी हुँदा एमालेकी पार्वती रानाले ५ हजार २९९ मत पाएकी थिइन् ।
वडातर्फ ९ मध्ये ५ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा माओवादीका वडाध्यक्ष विजयी भएका थिए ।
यसैगरी, इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी ३ हजार ७२२ मत ल्याएर विजयी हुँदा कांग्रेसका विश्वलाल लामाले ३ हजार ४७२ मत पाएका थिए । उपाध्यक्षमा एमालेकै उमाकुमारी लामाले ३ हजार ७२५ मत ल्याएर जित्दा कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत पाएकी थिइन् ।
वडातर्फ भने ५ मध्ये ३ वटामा कांग्रेस र २ वटामा एमालेले वडाध्यक्ष जितेका थिए ।
यस्तै, राक्सिराङ गाउँपालिकामा कांग्रेसका राजकुमार मल्लले ५ हजार ४८१ मत ल्याएर अध्यक्ष पद जित्दा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत पाएका थिए । उपाध्यक्षमा माओवादीका बनस्तम थिङ ४ हजार ८३९ मत ल्याएर विजयी हुँदा एमालेकी सुन्तली प्रजाले ४ हजार १२९ मत पाएकी थिइन् ।
वडातर्फ कूल ९ मध्ये ४ वटामा कांग्रेस, ३ वटामा एमाले र २ वटामा माओवादीले वडाध्यक्ष जितेका थिए ।
यसैगरी, हेटौंडा उपमहानगरपालिकाका १ र ३ नम्बर वडामा कांग्रेस र ११ तथा १९ नम्बर वडामा एमालेले जितेका थिए । उता मकवानपुरगढी गाउँपालिकाबाट यस क्षेत्रमा पर्ने चारवटै वडा (५,६,७ र ८) कांग्रेसले नै जितेको थियो ।
सबै वडामा नभएपनि पालिका तहमा भने कांग्रेस, माओवादीसहितका दलहरूले तालमेल गरेका थिए ।

महेशलाई व्यक्तित्वको बल
अघिल्लोपटक कांग्रेस-माओवादीसहित ५ दलीय गठबन्धनलाई पराजित गरेका एमालेका प्रभावशाली युवा नेता महेश बर्तौलाको व्यक्तिगत लोकप्रियता अझै पनि घटेको देखिँदैन । तर, जेनजी आन्दोलनपछि एमाले नेतृत्वमाथि भइरहेको प्रहार र आलोचनाको शिकार महेश पनि हुनुपरेको छ ।
थाहा नगरपालिकाको उपल्लो भूभाग दामन होस् कि हेटौंडा बजार, उनले पार्टीको नेतृत्वसँगै जोडिएको आलोचनालाई सामना गरिरहेका छन् । दामनमा भेटिएका एक मतदाताले महेश बर्तौला व्यक्तिगत रूपमा मन परे पनि एमाले नेतृत्वका कारण उनलाई दोहोर्याएर मत दिन नसक्ने बताए ।
त्यस्तै, आवाज हेटौंडाका मतदाताको पनि छ । जेनजी आन्दोलनपछि कांग्रेसले नेतृत्व परिवर्तन गरेर आए पनि एमाले महाधिवेशनमा गएर पुरानै नेतृत्वलाई अनुमोद गरेर आएको भन्दै मतदाताले उनको आलोचना गरिरहेका छन् । यस्तो प्रश्नको सामना हरेक पालिकामा गर्नुपरेको एमालेकै एक नेता बताउँछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकटतालाई उनको आलोचनाको मुख्य हतियार बनाएको देखिन्छ । तर, महेश भने नेतृत्वको प्रतिरक्षा गरेरै व्यक्तिगत लोकप्रियता र संगठनको बलमा चुनावी मैदानमा होमिएका छन् ।
'दलहरू विधि र विधानअनुसार चल्छन् । नेतृत्व चयनको पनि आफ्नो विधि हुन्छ । महाधिवेशन सार्वभौम निकाय हो । सार्वभौम महाधिवेशनले गर्ने फैसला कार्यान्वयन गर्नु दलीय अनुशासन हो । दलको नेतृत्व र दलीय अनुशासन उल्लंघन गरेर कुनै पनि कार्यकर्ता अगाडि बढ्न सक्दैन । दलीय व्यवस्थामा नेतृत्व र निर्णयलाई बोकेर गर्वका साथ अगाडि नबढ्ने हो भने समग्र व्यवस्था र पार्टीगत अनुशासन कमजोर हुन्छ,' महेश भन्छन् ।
अघिल्लोपटक ३२ महिना मात्र काम गर्न पाए पनि संसद्मा 'ब्याक बेञ्चर होइन, फ्रन्टबेञ्चर' बनेर काम गरेको उनको दाबी छ । कतिपय अधुरा कामहरू पूरा गर्न र फेरि पनि संसद्मा सशक्त प्रतिनिधित्वका लागि आफूलाई जिताउन उनले मतदातासमक्ष अपिल गरिरहेका छन् ।
यो क्षेत्रमा एमालेले कांग्रेसलाई नै आफ्नो मुख्य प्रतिस्पर्धी मानेको छ । कांग्रेसबाट रास्वपाले तान्ने प्रजातान्त्रिक मत र नेकपा, उज्यालो नेपाल, श्रम संस्कृतिलगायत दलले 'होल्ड' गर्ने जनजाति मत बढ्दा महेशलाई फाइदा हुन सक्ने देखिन्छ ।
यो क्षेत्रमा विशेषगरी तामाङसहित जनजाति मतदाताको उल्लेख्य मत छ । थाहा, कैलाश, राक्सिराङ, भीमफेदी, इन्द्रसरोबर र मनहरिसमेत ६ वटै पालिकामा सबैभन्दा धेरै बसोबास तामाङ जातिको छ । अन्य जनजातिको मत पनि निकै उल्लेख्य छ ।
प्रभावशाली व्यक्तित्व र बलियो संगठन मशेह बर्तौलाको सबल पक्ष हो भने एमाले नेतृत्वको अलोकप्रियता उनको चुनौती बनेर अगाडि आएको छ । तै पनि महेश यस क्षेत्रमा जीतका लागि प्रबल दाबेदारमध्ये एक मानिन्छन् ।
बुद्धलाई जिताउन इन्द्र बानियाँको जोडबल, 'जातीय फ्याक्टर'को पनि भर
कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्ध लामा क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । उनलाई जिताउन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ कम्मर कसेर लागिपरेका छन् । कांग्रेसकै एक नेताको कुरा मान्ने हो भने बुद्ध इन्द्र बानियाँका छायाँ हुन्, जो हमेशा साथमा रहन्छन् ।
बानियाँले आफ्नो क्षेत्रका मतदातालाई भन्ने गरेका छन्- 'बुद्ध भनेको म नै हो । मलाई नै मत दिएको सम्झनु भए हुन्छ ।' अर्कातर्फ, बुद्धको प्रस्तुति पनि ठ्याक्कै त्यस्तै छ- 'मलाई जिल्ला सभापति इन्द्र बानियाँले नै बनाउनुभएको हो । उहाँ नै मेरो नेता हो ।'
मकवानपुर कांग्रेसमा इन्द्र बानियाँ 'फ्याक्टर' सबैभन्दा बलियो मानिन्छ । अनौपचारिक कुराकानीमा कांग्रेसका एक मतदाताले भनेका थिए- 'यहाँ कांग्रेस दुईथरि छन्, एउटा विशुद्ध नेपाली कांग्रेस, जसले रुख चिह्नबाहेक केही देख्दैन । अर्को इन्द्र बानियाँ कांग्रेस, जसका लागि रुखभन्दा पनि इन्द्र बानियाँको संकेत महत्त्वपूर्ण हुन्छ ।'
व्यावसायिक पृष्ठभूमि र कार्यकर्ता व्यवस्थापन गर्न सिपालु भएका कारण यहाँ 'इन्द्र बानियाँ कांग्रेस'को बाहुल्यता रहेको उनको विश्लेषण थियो । त्यसो त इन्द्र बानियाँ आफैं पनि यही क्षेत्रबाट जितेर मुख्यमन्त्री बनेका हुन् । प्रतिनिधिसभाका लागि भविष्यको आफ्नो क्षेत्र बनाउन पनि इन्द्र बानियाँले यहाँ बजेट खन्याएका छन् । त्यसको लाभ बुद्धलाई हुने देखिन्छ ।

अर्कोतर्फ, इन्द्र बानियाँकै जोडबलमा इतिहासमै पहिलोपटक चेपाङ समुदायबाट सन्त चेपाङ बागमती प्रदेशको राज्यमन्त्री बनेका थिए । यस क्षेत्रमा पर्ने राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङको उल्लेख्य मत छ । इन्द्र बानियाँ र बुद्ध लामाले त्यो कुरालाई पनि चुनावी अभियानमा भजाइरहेका छन् । राक्सिराङमा ४३.९६ र कैलाशमा २२.९७ प्रतिशत बासिन्दा चेपाङ समुदायका छन् ।
बुद्ध लामाका लागि अर्को सबैभन्दा बलियो पक्ष भनेको तामाङहरूको जातीय मत हो ।
यो क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिकामा सर्वाधिक ७६.३१ प्रतिशत, कैलाश गाउँपालिकामा ६३.७२ प्रतिशत, भीमफेदी गाउँपालिकामा ६१.२१ प्रतिशत, थाहा नगरपालिकामा ५०.१३ प्रतिशत, मनहरिगाउँपालिकामा ४६.५५ प्रतिशत र राक्सिराङ गाउँपालिकामा ४६.२५ प्रतिशत बासिन्दा तामाङ समुदायका छन् । केही वडा समेटिएका मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा पनि तामाङको उल्लेख्य बसोबास छ ।
'अहिलेसम्म त तामाङसहितका जनजातिहरूको आ-आफ्नै दल छ, त्यसैले बुद्ध लामाका लागि सबै मत जान्छ भनेर विश्लेषण गर्न मिल्दैन, तर कुनै दिन उम्मेदवारको जातीय पृष्ठभूमि निर्णायक हुन पुग्यो भने कांग्रेसका लागि त्यो जीतको सबैभन्दा बलियो आधार बन्नसक्छ,' मकवानपुर २ लाई राम्रोसँग बुझेका एक स्थानीय विश्लेषकले भने ।
त्यसो त नेकपा, उज्यालो नेपाल, श्रम संस्कृतिलगायत दल पनि तामाङसहितका जनजाति मतमा बढी निर्भर छन् । उनीहरूले ल्याउने मतले कांग्रेसको हिसाब बिगार्ने र एमालेलाई फाइदा हुन सक्ने तथ्यलाई पनि नकार्न सकिँदैन ।
इन्द्र बानियाँको साथ, बलियो संगठन र जातीय मत बुद्ध लामाको सबल पक्ष हो भने प्रतिस्पर्धामा प्रभावशाली युवा नेता महेश बर्तौला उम्मेदवार हुनु तथा नेकपा र केही नयाँ दलले जनजाति मत काट्न सक्ने उनको चुनौती हो ।
लवशेरलाई थाहाको भर
थाहा नगरपालिकाले प्रतिनिधिसभामा यसपटक आफ्नै उम्मेदवार पाएको छ । त्यहाँका पूर्वमेयर लवशेर विष्ट नेकपाबाट उम्मेदवार बनेका छन् । हामी थाहा नगरपालिकाका विभिन्न बस्तीमा पुग्दा अधिकांश मतदाताले लवशेरलाई मत दिने बताएका थिए ।
कांग्रेसका एक वडाध्यक्षले त थाहाबाट सदर मत करिब २२ हजार खस्ने र त्यसमा १० देखि ११ हजार लवशेर एक्लैले पाउने विश्लेषण सुनाएका थिए । थाहामा लिड गरे पनि अन्य पालिकाहरूमा उल्लेख्य संगठनात्मक मत नहुनु लवशेरको कमजोर पक्ष हो ।
अर्कातर्फ, उनकै गाउँका सन्तोष विष्ट (नातामा भतिजो पर्ने) जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् । सन्तोषले काट्ने मतले पनि लवशेरको हिसाब बिगार्न सक्ने विश्लेषण कतिपयको छ ।

हामीले पालुङ पुगेपछि लवशेरलाई फोन गरेका थियौं । तर, उनी कैलाश गाउँपालिकामा पुगेका रहेछन् । उनले आफूले थाहामा गरेको काम नै जीतको आधार रहेको बताए । 'मैले थाहामा गरेको कामबारे अन्य पालिकाका मतदाता पनि जानकार हुनुहुन्छ । भेटघाटका क्रममा सबैले थाहामा जस्तै काम गर्नुपर्छ भनिरहनुभएको छ, त्यो नै मेरो जीतको मुख्य आधार हो,' विष्टले भने, 'यसपटक जनताले मत परिवर्तन गर्दै हुनुहुन्छ, परिवर्तित मत मतिर आउँछ ।'
उनले सांसद मेयरजस्तो कार्यकारी पद नभए पनि सुकुम्बासी समस्या समाधानदेखि विकास निर्माणका नीतिगत अप्ठ्यारा पन्छाउन आफूले भूमिका खेल्ने दाबी गरे ।
थाहामा यसै पनि अगाडि भएकाले उनले कैलाश, राक्सिराङलगायत जनजाति मत उल्लेख्य भएका पालिकामा जोडबल गरिरहेका छन् । माओवादीको भोट बैंक नै जनजाति मत भए पनि कांग्रेसका जनजाति उम्मेदवार हुनु र उज्यालो नेपाल तथा श्रम संस्कृति पार्टीका जनजाति उम्मेदवार पनि मैदानमा रहनुले लवशेरलाई चुनौती हुने देखिन्छ ।
हामीले बुझ्दा लवेशरको सबल पक्ष विकासप्रेमी छवि रहेको पायौं भने उनको कमजोर पक्ष बलियो संगठन नहुनु हो ।
रास्वपालाई'सरप्राइज' मतको भर, मनहरिमा चिन्ता !
मकवानपुरमा रास्वपाको उद्गम थलो मनहरि गाउँपालिका हो । यहीँका भरत पराजुली पार्टीका जिल्ला सभापति छन् ।
अघिल्लोपटक प्रतिनिधिसभा निर्वाचनमा १२ हजार ५९ मत ल्याएका पराजुली यसपटक पनि उम्मेदवार बन्ने लगभग पक्का मानिएको थियो । तर, अन्तिम समयमा बालेन्द्र शाह (बालेन)को कोटाबाट युवा उम्मेदवार प्रशान्त उप्रेतीले टिकट उछिट्ट्याएपछि पराजुली निराश बन्न पुगे ।
रास्वपालाई अघिल्लोपटक सबैभन्दा बढी मत मनहरिबाटै खसेको थियो ।
तर, यसपटक भरत पराजुली उम्मेदवार बन्न नपाएपछि त्यो मत कांग्रेसतर्फ डाइभर्ट हुनसक्ने विश्लेषण मनहरि र हेटौंडा बजार दुवैतिर सुन्न सकिन्छ । २०७९ मा पार्टीको उम्मेदवार नहुँदा यहाँका धेरै कांग्रेसले रास्वपालाई मत दिएका थिए । त्यसो त पराजुलीको पुरानो 'ब्याकग्राउन्ड' पनि कांग्रेस नै हो ।

यसपटक त्यहाँका कांग्रेस मतदाताहरू आफ्नै चिह्नतर्फ 'डाइभर्ट' हुनसक्ने सम्भावनालाई रास्वपाकै एक शुभचिन्तक पनि स्वीकार्छन् । तर, पनि नयाँको लहर चलेको समयमा अन्य पालिकाबाट 'सरप्राइज'को सम्भावनालाई नकार्न भने सकिँदैन ।
हामीले विभिन्न क्षेत्रमा पुगेर गरेको कुराकानीमा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीलाई नचिन्नेहरूले पनि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह तथा घण्टी चिह्नबारे बोलेका थिए । कतिपयलाई घण्टीमा मत दिनु भनेको रवि-बालेनलाई प्रत्यक्ष मत दिनु हो भन्ने परेको पनि हामीले पायौं ।
प्रशान्तसँग हामीले हेटौंडामा भेट्न निकै प्रयास गरेका थियौं, तर उनी बिहान सबेरै ग्रामीण इलाकाका लागि निस्किने र राति अबेर मात्र फर्किने भएकाले सम्भव हुन सकेन । युवा व्यक्तित्व, घण्टी चिह्नको लहर र रवि-बालेनको छवि प्रशान्तको सबल पक्ष पायौं भने क्षेत्रमा खासै नचिनिनु र पार्टीको भोट बैंकमै असन्तुष्टि उनको कमजोर पक्ष रहेको भेटियो ।
दलहरू औपचारिक रूपमा घरदैलोमा निस्किनै बाँकी रहेकाले चुनावी चित्र प्रस्ट भइसकेको छैन । तर, यहाँका मतदाता र स्थानीय विश्लेषकहरूसँग कुरा गर्दा यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिन्छ । रास्वपाको 'सरप्राइज' मत र थाहाका लवशेरको विकासप्रेमी छविले चुनावी हिसाब बदल्न सक्ने सम्भावनालाई नकार्न भने सकिँदैन ।
पढ्नुहोस्, यो पनि :
मकवानपुर- २ लाई छिचोल्दै २५०० मिटरको उचाइमा पुगेर हेटौँडा ओर्लिँदा