
काठमाडौँ, १४ पुस- अध्यक्ष ओलीनिवास बालकोटमा स्थायी समिति बैठक चलिरहेकै वेला राष्ट्रपति विद्या भण्डारीले अध्यादेश जारी गर्न लागेको र निर्वाचन आयोगले पनि राष्ट्रिय सभा गठनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको सन्देश पुगेको खबर नयाँ पत्रिकाले छापेको छ । बैठककै बीचमा राष्ट्रपति कार्यालयबाट त्यस्तो अनौपचारिक सन्देश प्राप्त भएलगत्तै एमाले नेताहरूले अध्यादेशबारे पार्टीको ‘पोजिसन’मा केन्द्रित रहेर छलफल चलाएका थिए । ‘बैठककै बीचमा भोलि अध्यादेश जारी हुने हल्ला (सन्देश) आएपछि त्यसैमा केन्द्रित रहेर छलफल भयो,’ एक नेताले भने ।
यो संगै बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्न तयार भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्षसहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको हो ।