
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहरले कांग्रेसको गढ मानिने मोरङमा पनि चुनावी समीकरणमा फेरबदल ल्याउने संकेत देखिएको छ । झापामा जस्तै मोरङमा पनि ‘घण्टी छाप’ र रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका बालेनको (बालेन्द्र शाह) प्रभाव उत्तिकै छ ।
नेपाली कांग्रेसका संस्थापक बीपी र गिरिजाप्रसाद कोइरालाको विरासत बोकेको र कांग्रेसको गढ मानिने मोरङका निर्वाचन क्षेत्रमा यसपटक नयाँ दलले समेत माहोल बनाइरहेका छन् । नयाँ दल आक्रामक ढंगले आउँदा कांग्रेस–एमाले लगायत दल रक्षात्मक देखिन्छन् ।
तत्कालीन माओवादी केन्द्र, नेकपा एसलगायत दलसँग तालमेल गरेर चुनाव लडेको कांग्रेसले ०७९ सालमा मोरङका ३ वटा क्षेत्र जितेको थियो । यसपटक ६ वटै क्षेत्रमा कांग्रेस एक्लै उम्मेदवारी दिएर चुनावी मैदानमा छ ।
महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक डा. बाबुराम तिमिल्सिना नयाँ पार्टीको प्रवेशले मोरङको चुनावी नतिजाको समीकरणमा फेरबदल ल्याउन सक्ने बताउँछन् ।
‘यसपटकको निर्वाचन विगतको भन्दा नितान्त फरक किन छ भने– कांग्रेस, एमाले र नेकपा बाहेकको दलले सरकार चलाओस् भन्ने आम जनमानसको बुझाइ देखिन्छ । साथै मान्छेको मनमा कौतुहलता पनि छ– नयाँहरूले देशलाई कतै भड्खालोमा हाल्ने त होइनन् ?’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘मतदातामा आशा र आशंका दुवै देखिन्छ । एकप्रकारको द्विविधा जस्तो पनि देखिन्छ ।’

मोरङमा कांग्रेस महामन्त्री गुरूराज घिमिरे क्षेत्र नम्बर ४, प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ ६, डा. मीनेन्द्र रिजाल २, डा. सुनिल शर्मा मोरङ ३, खड्ग फागो १ मा उम्मेदवार छन् । कोइराला र शर्मा यसअघिको प्रतिनिधि सभामा विजयी भएका थिए ।
एकपटक नयाँलाई हेर्ने प्यास
देशका अन्य क्षेत्रमा जस्तै मोरङमा पनि एकपटक ‘नयाँलाई हेर्ने’ ट्रेन्ड देखिन्छ । विराटनगरको शहरी क्षेत्रदेखि केराबारी र बेलबारीका ग्रामीण क्षेत्रमा मतदाताले नयाँलाई हेर्न चाहेको बताए । विराटनगर-१२ का लालबहादुर चौहानले यसपटक मतदाताले नयाँलाई हेर्न चाहिरहेको बताए ।
‘३५-३६ वर्षदेखि कांग्रेस एमालेलाई दिएको होइन र ? उनीहरूलाई भोट दिएर देशलाई फेरि ५० वर्ष पछि धकेल्ने ?’, चौहानले आक्रोशित हुँदै लोकान्तरसँग भने, ‘यसपटक हामी परिवर्तनको पक्षमा उभिन्छौं । दललाई दिन लागेको होइन परिवर्तनको एजेन्डालाई समर्थन गर्न खोजेको हो ।’
कञ्चनबारी मोरङका सुशील उराउ पुराना दलका नेताहरूप्रति जनतामा आक्रोश र वितृष्णा रहेको बताउँछन् । ‘पुराना दलका नेताहरूप्रति जनतामा वितृष्णा छ, यसपटक हामी नयाँ पार्टी र नयाँ उम्मेदवारलाई भोट दिने निष्कर्षमा पुगेका छौं’, उराउले लोकान्तरसँग भने, ‘पटक पटक उनीहरूलाई जिताएर के परिवर्तन भयो ? फेरि उनीहरूलाई किन दिने ?’
विराटनगर-१२ का लक्ष्मण दासले यसपटक जनताले परिवर्तन हेर्न चाहिरहेको बताए । ‘अहिले नै हामी कुनै निर्णयमा पुगेका छैनौं, बालेन प्रधानमन्त्री बन्ने कुरा छ । त्यो बेला हामी हेर्छौं’, दासले भने ।

झापा ५ बाट उम्मेदवारी दिएका बालेनले विराटनगर लगायत मोरङका विभिन्न भेगमा गरेको ‘रोड शो’ले चलायमान मतदातालाई आकर्षित गरेको छ ।
विराटनगरकै स्थानीय रेखा राम र उर्मिला राम पनि यसपटक परिवर्तनको पक्षमा उभिने बताउँछन् । सोनिया देवी साहले आफूहरू युवालाई अवसर दिनुपर्छ भन्ने पक्षमा रहेको बताइन् ।
ग्रामथान-७ का जत्रु माझीले यसपटक कांग्रेससँगै घण्टीको कुरा सुनिरहेको बताए । ‘मेरो रिक्सामा चढ्नेहरू कि कांग्रेसको कुरा गरेका छन् कि घण्टी भनेका छन् । बालेन प्रधानमन्त्री बन्ने पनि कुरा गरिरहेका छन्’, माझीले भने ।
मोरङ सुन्दरहरैचाका परशुराम थारूले यसपटक नयाँलाई दिने कुरा सुने पनि आफूले भेउ नपाएको बताए ।
परम्परागत भोट बैंक भत्कियो, निर्णयमा छोराछोरी हाबी !
महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक अनिल अधिकारी यसपटकको चुनावमा विरासत र परम्परागत भोट बैंक भत्किएको बताउँछन् । ‘नयाँ दलहरू आक्रामक ढंगले आएका कारण परम्परागत शक्ति र दलहरू सन्त्रस्त छन्’, अधिकारीले भने, ‘चुनावी क्षेत्रका परम्परागत भोट बैंक भत्किएका छन् । जनताले मत परिवर्तन गर्न खोजेको देखिन्छ । राजनीतिक दलको कार्यशैलीप्रतिको असन्तुष्टि भोटमा पोखिने देखिँदैछ ।’
मोरङ-६ का मतदाता समेत रहेका नेपाल सरकारका निवृत्त कर्मचारी सुशील थापा परम्परागत विरासत अब बाँकी नरहेको विश्लेषण गर्छन् । ‘यसपटकको चुनावको विशेषता भनौं जातीयताको कुरा सकिएको छ, कुनै पनि दलको पुरानो विरासत भत्किएको छ । विगतको चुनाव या स्थानीय तहमा यति क्षेत्र जितेको छु भन्ने कुराको अर्थ सकिएको छ’, थापाले भने ।
महेन्द्र मोरङ क्याम्पसका अर्का उपप्राध्यापक अर्जुन तामाङले यसपटकको चुनावमा बुवाआमालाई छोराछोरीले भोट हाल्न लगाउने फरक खालको ट्रेन्ड देखिएको बताए । ‘यसपटक देश/विदेशमा रहेका छोराछोरीले बाउआमालाई कुनै निश्चित दलको पक्षमा भोट हाल्न लगाउने गरेको देखिन्छ, यो अनौठो ट्रेन्ड देखिएको छ’, उनले भने ।

मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत बेलबारी ३ का निर्मल सुवेदीले मान्छेहरू बाहिर नखुले पनि भित्रभित्रै नयाँलाई अवसर दिनुपर्छ भनेर सल्लाह गरिरहेको बताए । ‘विदेशबाट समेत परिवारका सदस्यले फोन गरेर निश्चित पार्टीलाई भोट दिनु भनेर भनिरहेका छन्, मेरै घरमा पनि जापानबाट फोन गरेर यसपटक हामीले भनेकोलाई भोट हाल्नु पर्छ भनेका छन्’, सुवेदीले भने ।
‘नयाँले पनि गरेनन् भने फेरि पुरानैलाई दिउँला’
मोरङको उत्तरी भेग केराबारी ६ का उत्तमकुमार थिङले कांग्रेस–एमालेलाई वर्षौंदेखि अवसर दिँदा समेत जनअपेक्षा अनुसारको काम नगरेका कारण यसपटक नयाँ दललाई दिने योजनामा रहेको बताए । ‘नयाँ दलले आशा जगाएकोले उनीहरूलाई एकपटक अवसर दिने योजना बनाएका छौं’ थिङले भने ।
मोरङ १ को केराबारीका योगराज राई भरसक पुराना दललाई नदिने आफूहरूको योजना रहेको बताए । ‘जेनजी आन्दोलनका क्रममा ठूला नेताको घरमा पैसा जलेको कुराले हामीहरूको मन खिन्न भएको छ । अझै उनीहरू नक्कली भिडियो हो भनेर जनतालाई झुक्याउन खोज्दैछन्’ राईले भने, ‘अहिलेका जनता नेताहरूले भनेको पत्याइहाल्ने खालका छैनन् । यसपटक पुरानाले भोट पाउँदैनन् ।’
केराबारीकै इन्द्रप्रसाद पौडेलले गाउँमा देखिएको लहर रोक्न र नयाँलाई आउन नदिन अन्तिमसम्ममा कांग्रेस, एमाले र माओवादी (नेकपा) मिल्नसक्ने लख काटे । ‘यसपटक उनै पुरानालाई भोट दिने पक्षमा जनता छैनन्, कुनै पनि कुराले मतदाताको परिवर्तन हुने छाँट छैन ।’
मोरङ क्षेत्रनम्बर ३ अन्तर्गत सुन्दरहरैचा १० की लक्ष्मी पाण्डे यसपटक नयाँलाई भोट दिने विचार गरेको बताइन् । ‘पुरानालाई दिँदा दिँदा वाक्क भइयो, नयाँले राम्रो गर्छन् कि भन्ने आशामा एकपटक नयाँलाई दिने हो’, पाण्डेले भनिन्, ‘नयाँले पनि काम गरेनन् र धोका दिए भने फेरि पुरानै दलमा फर्किउँला ।’
बेलबारी ३ का लक्ष्मी गिरीले पटक पटक पुरानै दललाई दिने पक्षमा आफूहरू नरहेको बताए । ‘लुकाउनु पर्ने केही छैन, यसपटक खुलेर नयाँ दललाई भोट दिने हो’, गिरिले लोकान्तरसँग भने ।
नेतृत्व परिवर्तनले कांग्रेस कार्यकर्तामा आशा
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर गगन थापा कांग्रेस सभापति बनेपछि नेपाली कांग्रेसका कार्यकर्ता आशावादी देखिन्छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने मोरङ बेलबारी ६ का गोपाल चौधरीले कांग्रेस फेरिएर आएकाले मतदाताले कांग्रेसलाई भोट दिने बताए ।
‘कांग्रेसमा पनि नयाँ युवाहरू नेतृत्वमा आएका छन्, अब कांग्रेसले युवाका माग सम्बोधन गर्छ’, चौधरीले भने ।

बेलबारीकै कुलबहादुर खवासले आफूहरूलाई कांग्रेसप्रति भरोसा रहेको बताए ।
पूर्वकर्मचारी सुशील थापा नेतृत्वमा गगन आएपछि कांग्रेसप्रति मतदाताको थोरै भए पनि भरोसा देखिएको बताउँछन् । ‘पुराना दलमा आशालाग्दो अनुहार गगन मात्र हुन, मतदाताले कांग्रेसलाई भोट दिए भने गगनलाई हेरेर दिने हुन्’ उनले भने ।
कांग्रेस महामन्त्री गुरूराज घिमिरेले कांग्रेस नेतृत्व परिवर्तनसँगै रूपान्तरित भएर आएकाले मतदाताहरू आकर्षित भएको बताउँछन् । ‘देशको भरोसा गर्न सकिने दल कांग्रेस हो भन्ने मतदाताले गहिरो ढंगले बुझेका छन्, कांग्रेसमा भएको परिवर्तनलाई मतदाताले स्वागत गरेका छन्’ घिमिरेले भने, ‘विशेष महाधिवेशनपछिको कांग्रेस नयाँ भनिएकाहरू भन्दा पनि नयाँ बनेको छ । हामी युवाका माग सम्बोधन गर्न तत्पर छौं ।’
नयाँको अस्तित्वलाई स्वीकार गरेका छौं, सामना गर्न तयार छौं- कांग्रेस नेताहरू
नेपाली कांग्रेसका नेताहरू एमालेले जस्तो रास्वपाको अस्तित्वलाई अस्वीकार गरेका छैनन् । मोरङ ६ का उम्मेदवार डा. शेखर कोइरालाले कांग्रेस आफ्नो संगठनको भरमा चुनाव लड्ने बताए ।
बेलबारी ६ का एमाले वडाअध्यक्ष पुष्कर शर्माले शहरी क्षेत्रमा जस्तो ग्रामीण भेगमा रास्वपाको प्रभाव नरहेको दबी गरे । ‘यहाँ एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा छ । कांग्रेस र एमालेको समर्थनमा दुई पटक चुनाव जितेका अमनलाल मोदी तेस्रो स्थानमा छन्’, एमाले कार्यकर्ता शर्माले भने, ‘रास्वपाको प्रभाव शहरी क्षेत्रमा रहेकोले केही भोट उसले पनि ल्याउने आँकलन गर्न सकिन्छ ।’

सुन्दर हरैचाका भीम थापाले चाहिँ जस्तोसुकै लहर आए पनि आफूले एमालेलाई नै भोट दिने बताए । स्वतन्त्र मतदातासँग कुरा गर्दा कांग्रेस–एमाले–नेकपा–राप्रपा जस्ता परम्परागत दललाई भोट दिन्छौं भन्ने भेटाउन मुस्किल पर्छ ।
बेलबारी ३ की इन्दिरा सिग्देलले नयाँलाई दिने कि पुराना दललाई दिने भन्नेमा अझै अन्योल रहेको बताइन् । ‘नयाँ भन्नेहरू पनि उत्तिकै छन्, पुराना दलका पनि समर्थक छन्’, सिग्देलले भनिन् ।
मोरङका ६ वटै क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धा
डिगबहादुर लिम्बुले जितेको मोरङ १ मा कांग्रेसका खड्ग फागो उम्मेदवार छन् । उर्लाबारीको मेयर रहेको बेला कोरोना लकडाउनको उल्लंघन गर्नेलाई लाठो लगाउने उनी यसक्षेत्रका चर्चित उम्मेदवार हुन् ।
मोरङ १ मा नेकपा एमालेले घनश्याम खतिवडालाई उम्मेदवार बनाएको छ । नेकपाले कुलप्रसाद साम्बा र रास्वपाले यज्ञमणि न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रमा श्रम संस्कृति पार्टीको तर्फबाट शान्ति पाख्रिन लामा उम्मेदवार छिन् । यसअघि ०७९ सालको स्थानीय तह निर्वाचनमा उनी उर्लाबारी नगरपालिकामा उपमेयरको उम्मेदवार बनेकी थिइन् । जनजाति बाहुल्य रहेको यो क्षेत्रमा रास्वपासँगै श्रम संस्कृति पार्टीको पनि राम्रो प्रभाव छ ।
०७४ सालको चुनावका माओवादी-एमाले गठबन्धन हुँदा मीनेन्द्र रिजालले चुनाव जितेको ०७९ सालमा कांग्रेस-माओवादी गठबन्धन हुँदा एमालेका ऋषिकेश पोखरेल विजयी भएको क्षेत्र हो यो । ०७९ मा टिकट नपाएका मीनेन्द्रले यसपटक टिकट पाएका छन् ।
यो क्षेत्रमा नेकपा एमालेबाट दिलीपकुमार अग्रवाल, नेकपाबाट चद्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की उम्मेदवार छन् । देशका अन्य भागमा जस्तै यो क्षेत्रमा पनि स्वतन्त्र र नयाँ भन्ने लहर चलिरहेको छ । राप्रपाका कन्सराज राजवंशी पनि चुनावी मैदानमा छन् ।

०७९ सालमा डा. सुनिल शर्मा विजयी भएको मोरङ ३ मा रास्वपाका गणेश कार्कीले कडा टक्कर दिइरहेको मतदाताहरूको बुझाइ छ । ०७९ सालको चुनावमा शर्माले एमालेका भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।
यो क्षेत्रमा नेकपा एमालेबाट इरनकुमार राई, नेकपाबाट डा. देउवान सम्बाहाम्फे उम्मेदवार छन् । यसअघिको चुनावमा राप्रपा उम्मेदवार रेखा थापाले झण्डै ११ हजार भोट पाएको यो क्षेत्रमा अहिले प्रेम प्रसाद सुवेदी उम्मेदवार छन् ।
पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचनमा लगातार विजय हासिल गरेका अमनलाल मोदी यसपटक पनि मोरङ ४ बाट उम्मेदवार छन् । ०७४ सालमा एमाले र ०७९ सालमा कांग्रेससँगको तालमेल मोदीका लागि फापेको थियो । यो क्षेत्रमा अहिले नेपाली कांग्रेस महामन्त्री गुरूराज घिमिरे उम्मेदवार छन् ।
नेपालमा गणतन्त्र स्थापनाका लागि ०६२/०६३ सालमा भएको जनआन्दोलनको पृष्ठभूमि बनाउन लागिपरेका नेविसंघका तत्कालीन अध्यक्ष घिमिरेप्रति मतदाताको सद्भाव देखिन्छ । सादगी नेता घिमिरे अहिलेसम्म सांसद र मन्त्री बनेका छैनन् । यो क्षेत्रमा नेकपा एमालेबाट जीवन घिमिरे तथा रास्वपाबाट सन्तोष राजवंशी उम्मेदवार छन् ।
०७९ सालमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएको मोरङ ५ मा यसपटक पनि बहुपक्षीय प्रतिस्पर्धा छ । लघुवित्त सञ्चालक मण्डल यसपटक चापाकल चिन्ह भएको राष्ट्रिय ऊर्जाशील पार्टीबाट उम्मेदवार छन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट फुलकुमार लालवानी, नेकपा एमालेबाट मनोजकुमार अग्रवाल उम्मेदवार छन् ।

गतनिर्वाचनमा निकटतम प्रतिद्वन्द्वी बनेका शिवकुमार मण्डल केवल नेकपाबाट उम्मेदवार छन् । तेस्रो बनेका जसपाका राजकुमार यादव यसपटक पनि उम्मेदवार छन् ।
मोरङ ६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला उम्मेदवार छन् । ०७९ सालको चुनावमा एमालेका लालबाबु पण्डितलाई फलाकिलो मतान्त्रले पराजित गरेर कोइराला यसै क्षेत्रबाट निर्वाचित भएका थिए । मोरङ ६ मा नेकपा एमालेबाट विनोद ढकाल र रास्वपाबाट रूविना आचार्य उम्मेदवार छिन् । नेकपाबाट ओपेन्द्र कुमार राय उम्मेदवार छन् ।
के भन्छन् मोरङका सर्वसाधारण मतदाता ?
रंगेली २ का महोम्मद फिरोज र अपसना खातुन सिलाईकटाइ पेसा गरेर बस्छन् । उनीहरूले अहिलेसम्म मत कता दिने भन्ने निर्णय लिइसकेका छैनन् । एमालेको तर्फबाट रंगेलीको मेयर जितेका दिलीप वगडिया अहिले २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार भएकाले उनलाई नै सहयोग गर्ने उनीहरूको विचार छ ।
रंगेली ५ की पदम कुमारी ढुगानाले यसपटक नयाँलाई मतदान गर्ने भनेर परिवारमा सल्लाह भइरहेको बताइन् । ‘यसपटक नयाँलाई दिनुपर्छ भन्ने सबैले भनिरहेका छन्, यदि देशका राम्रो हुन्छ भने हामीले किन नदिने ?’ उनले भनिन् ।
सिटिसफारी चलाएर जीविका धानिरहेका विराटनगर १२ का अशोक ऋषिदेवले बालेन प्रधानमन्त्री बन्ने कुराले आफूलाई नयाँलाई भोट दिनुपर्छ कि भन्ने सोंच आएको बताए ।

विराटनगरको महेन्द्र मोरङ कलेज पछाडि भेटिएका अरविन्द कुमार मण्डल मोरङ ६ मा पुराना दलहरूको विरासत रहेकोले नयाँको सम्भावना नरहेको बताउँछन् ।
विराटनगरकै अरिवन्द कुमार मण्डल र धर्म सहनिले पुराना दलबाट जितेका नेताले विकास नगरेकाले यसपटक नयाँलाई हेर्ने योजना रहेको बताए । ‘हाम्रो हजुरबुबा पुस्ताले पनि उनीहरूलाई सघाए, बुवाहरूले तिनै दललाई भोट हाल्नुभयो । जसलाई भोट दिएर देशमा विकास भएन भने फेरि उसैलाई किन दिने ?’ सहनीले भने ।
मोरङको नेता चोकमा भेटिएका ७६ वर्षका कमलेस चौधरीले यस अगाडि तत्कालीन माओवादी केन्द्रका अमनलाल मोदीलाई भोट हालेको र यसपटक नयाँलाई हेर्ने रहर भएको बताए । ग्रामथान ६ का मोहम्मद तसलिमले पनि यसपटक नयाँलाई हेर्ने पक्षमा रहेको बताए ।
ग्रामथान गाउँपालिकाका रामकुमार सरदार यसपटक नयाँ दललाई अवसर दिने विचार रहेको बताए । ‘अहिलेसम्म निर्णयमा पुगिसकेको छैन, नेताहरूको कुरा सुनेर मात्रै भोट के मा हाल्ने भन्ने निर्णयमा पुग्छु’, उनले भने ।
मोरङको कटारी ४ का राजेश राम र प्रमोद रामले पहिलाजस्तो पैसाले भोट किनबेच गर्ने अवस्थामा नरहेको बताए । उनले यसपटक नयाँको लहर आफ्नो गाउँमा पनि पुगेको बताए ।
७५ वर्षका नमोनारायण चौधरीले यसपटक धेरैजनाले नयाँलाई भोट दिनुपर्छ भनिरहेको तर आफू अझै निर्णयमा पुगिनसकेको बताए ।
विराटनगर १९ का नमोनारायण राजवंशी यसपटक बालेनको पक्षमा रास्वपाले प्रचार गरिरहेकाले उसको माहोल देखिएको बताए । ‘अरू दल पनि गाउँमा आउन थालेपछि माहोल परिवर्तन हुन सक्छ, मानिसहरू अझै खुलेका छैनन्’, राजवंशीले भने ।
मोरङ ५ का उम्मेदवार रोशन शाहले घण्टीभन्दा तलमाथि केही नसोच्ने बताए ।
‘हाम्रो एउटै चाहना- देशमा विकास र सुशासन होस्’
यसअघि भोट दिँदै आएका दलबाट मत परिवर्तन गर्नुको उद्देश्य देशको शान्ति, स्थिरता र विकास होस् भन्ने चाहना गरेको मतदाताहरूले बताएका छन् । सुशासन, स्वदेशमै रोजगारी, शिक्षा र स्वास्थ्यमा भइरहेको तीब्र व्यापारीकरणको अन्त्य जस्ता विषयलाई लिएर आफूहरू नयाँप्रति आकर्षित भइरहेको मतदाताहरू बताउँछन् ।
मोरङको केराबारी ६ प्रभात चोककी रोशनी बस्नेतले टोलका अधिकांश दिदीबहिनीहरू यसपटक परिवर्तनको पक्षमा देखिएको बताइन् । ‘हाम्रो जीवनमा परिवर्तन भएन, देशमा विकास भएन भन्ने नै चिन्ता हो । नयाँ दलले अहिले भन्दा केही राम्रो गर्छन् भन्ने अपेक्षा छ’, बस्नेतले भनिन् ।
केराबारी ७ दाहाल चोकका ध्यानबहादुर विश्वकर्मा धरानमा हर्क साम्पाङले गरेको कामबाट आफू प्रभावित बनेकाले यसक्षेत्रमा पनि श्रम संस्कृति पार्टीप्रति पनि मतदातामा आकर्षण देखिएको बताए ।

सुनसरीको धरानसँग जोडिएको मोरङ १ मा हर्कको पार्टी श्रम संस्कृति पाटीको प्रभाव रहेको स्थानीयहरू बताउँछन् । केराबारीमा भेटिएका उमा सुवेदी, गोमा बस्नेत शर्मिला राई हेमकर्ण सुनाम यसपटक हर्कको पार्टीलाई सघाउने कि भन्ने छलफलमा रहेको बताए । स्थानीय ज्योती सुवेदीले माटो र घण्टीमध्ये कसलाई भोट हाल्ने भनेर अन्योल रहेको बताइन् ।
मोरङको केराबारी बजारमा भेटिएका आकाश प्रधानले बालेनलाई बहुमतको सरकार बनाउन सहज होस् भनेर आफूले घण्टीमा भोट हाल्न लागेको बताए । ‘विगतमा कांग्रेस एमालेलाई दिएकै हो । यसपटक पुरानो मानसिकता परिवर्तन गर्न लागेका छौं’, उनले भने ।
अध्यक्ष केपी ओलीको बोलीकै कारण एमालेलाई घाटा लागिरहेको उनले बताए । ‘शेरबहादुर देउवाको घरमा जलेको पैसा एआईबाट बनाएको भनेर ओलीले दाबी गरेपछि जनता थप आक्रोशित भएका छन्’, उनले भने ।
पढेको र देशमा केही गर्न सक्ने युवा भएकाले अहिले मानिसहरू नयाँको पक्षमा देखिएको दीपक महतले बताए । देशभक्त पार्टी भनेर राप्रपालाई भोट दिएका रमेश महत यसपटक बालेन भेटिएकाले उनैलाई भोट दिने बताउँछन् ।
मोरङको विराटनगरमा भेटिएका शिक्षक अनन्त गौतमले यसपटक ग्रामीण वस्ती र सुकुम्बासी टोलमा पनि मतदातामा असाधारण चेतना आएकाले कुनै प्रलोभनमा परेर मत परिवर्तन गर्ने सम्भावना नदेखिएको बताए ।
निर्वाचनका लागि २१ दिन बाँकी रहेको समयमा मोरङमा राजनीतिक दलले कार्यकर्ता भेटघाटलाई तीब्र बनाएका छन् ।