काठमाडौँ, मङ्सिर २६ - नुवाकोटकी सविता श्रेष्ठ (नाम परिवर्तन) २०७० सालमा आफ्नै दिदीका ससुराबाट बलात्कृत भइन् । त्यतिखेर उनी १७ वर्षकी थिइन् । गाउँका सम्भ्रान्त र राजनीतिक पहुँच भएका ती व्यक्तिविरुद्ध प्रहरीमा पुग्दासमेत उनले उल्टै धम्कीको सामना गर्नुपर्यो । ‘बाहिरै किन मिलापत्र गरिनौं भनेर हकारे । एक सातापछि उजुरी दर्ता गरियो, कानुनी कारबाही गरेको नाटक गरियो,’ श्रेष्ठले भनिन्, ‘अदालतबाट पनि मैले न्याय पाइनँ ।’ खेतीकिसानी गर्ने उनका एक दाइ र दिदी छन् भने दुई भाइ र एक बहिनी छन् ।

सशस्त्र द्वन्द्वका बेला सप्तरीकी गौरी चौधरी (नाम परिवर्तन) लाई तत्कालीन शाही सेनाले माओवादीमा लागेको भनेर हिरासतमा लियो । ‘आँखामा पट्टी बाँधेर बुटले हिर्काउनेदेखि हातखुट्टाका नङहरू कुच्याउनेसम्म गर्थे,’ उनले सुनाइन्, ‘त्यो ३ महिनामा कतिपल्ट बलात्कृत भएँ हिसाबकिताबै छैन ।’ २०६१ सालमा उक्त घटना हुँदा उनकी छोरीले एसएलसी दिएकी थिइन् । उनले ८ वर्षपछि त्यस घटनाबारे छोरीलाई बताइन् । त्यहींबाट सुरु भयो अवहेलनाको शृंखला । छोरीका अगाडि ज्वाइँले उनलाई फोहोर शब्द प्रयोग गर्ने र हेप्ने गर्थे । आमालाई हरेक कुरामा छेड हान्न थालेपछि छोरीलाई असह्य भयो । हरेक कुरा आमासँग जोड्ने, गाली गरिरहने, बलात्कृतकी छोरी भनेर हेपिरहने भएकाले उनी आत्महत्या गर्न विवश भइन् ।
श्रेष्ठ र चौधरी जस्तै यौनहिंसामा परेका अधिकांश महिला समाजमा खुलेर बाँच्न सकेका छैनन् । समाजले यौनहिंसामा परेकालाई अपनाउन नसक्नुले पीडितलाई थप मानसिक पीडा दिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
मनोसामाजिक परामर्शदाता रुबिना केसी यौनहिंसा पीडितलाई समाजमा पुन:स्थापना गराउनु चुनौतीपूर्ण रहेको बताउँछिन् ।