
काठमाडौँ, १९ पुस- नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ । प्रहरीका अनुसार आइजिपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन (कासमू) नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी काटिएको हो, नयाँ पत्रिकामा खबर छ ।
कानुनविद्का अनुसार सिलवालको सांसद पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन । यसका लागि अदालतमा मुद्दा दर्ता हुनुपर्छ । अधिवक्ता डा. भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद पद नजाने बताए । ‘प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गर्न सक्छ । यही आधारमा सिलवालको सांसद पद जाँदैन । अदालतमा मुद्दा दर्ता भयो भने उनको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने । अदालतबाट दोषी ठहर नभएमा उनको सांसद पद पुनः फिर्ता हुने आचार्यको भनाइ छ ।