०८ साउन २०८३, शुक्रबार
घरेलु क्रिकेटमा केही कीर्तिमान

आसिफ, विनोददेखि अर्जुन कुमालसम्म जसले पीएम कपमा आफूलाई अब्बल सावित गरे

बैशाख २, २०८३
काठमाडौं
आसिफ, विनोददेखि अर्जुन कुमालसम्म जसले पीएम कपमा आफूलाई अब्बल सावित गरे

आसिफ शेख, विनोद भण्डारीदेखि अर्जुन कुमालसम्म प्रधानमन्त्री कपमा जसले आफूलाई अब्बल सावित गरे

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेल सकिएका छन् । प्रतियोगितामा १० टोली सहभागी छन् । सहभागी सबै टोलीले लिग चरणमा नौ–नौ खेल खेलिसकेका छन् ।

लिग चरणमा कुल ४५ खेल खेलियो । अब फाइनल खेलमात्र बाँकी छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश प्रतियोगिताको फाइनलमा पुगेका छन् । यी दुई टोलीबीच शुक्रबार वीरगञ्जस्थित नारायणी रंगशालामा उपाधिका लागि भिडन्त हुनेछ ।  

यो प्रतियोगिताबाट आगामी सिजनको जय ट्रफीका लागि पनि टोलीहरू छानिएका छन् । तालिकाको माथिल्लो ६ स्थानमा रहने टोली त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश आगामी जय ट्रफीमा छानिएका हुन् ।

प्रधानमन्त्री कपलाई यसै महिना आयोजना हुने क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीका रूपमा पनि लिइएको छ । लिग–२ को १७औँ शृंखला अप्रिल २५ देखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ ।

यो शृंखलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानको सामना गर्नेछ । यसपटक प्रधानमन्त्री कप क्रिकेटमा अधिकांश टोली पूरै ओभर मैदानमा टिक्न नसके पनि केही खेलमा गतिला कीर्तिमान भने बनेका छन् । यस्तै केही महत्त्वपूर्ण कीर्तिमानको बारेमा यहाँ चर्चा गरिएको छ ।

००

पहिलो दोहोरो शतकको कीर्तिमान

एपीएफ क्लबका आसिफ शेख प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटको इतिहासमा दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

null

सोमबार वीरगञ्जमा सम्पन्न मधेश प्रदेशविरुद्धको खेलमा ओपनर ब्याट्सम्यान आसिफ शेखले दुई सय आठ रन बनाएका हुन् ।

‘रिटायर्ड आउट’ भई पेभेलियन फर्किनुअघि उनले केबल एक सय ४२ बलको सामना गरी १७ छक्का र १५ वटा चौका पनि हिर्काए ।

००

सर्वाधिक शतकको कीर्तिमान

त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यान विनोद भण्डारी प्रधानमन्त्री कप क्रिकेटको इतिहासमा सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

विनोदले सोमबार जनकपुरमा सम्पन्न कोशी प्रदेशविरुद्धको खेलमा एक सय ८९ रन बनाएसँगै यो कीर्तिमान उनको नाममा जोडिएको हो ।

उनले एक सय ५० बलको सामना गरी पाँच छक्का र २१ चौका हिर्काएका थिए । विनोदले प्रधानमन्त्री कपको इतिहासमा पाँचौँ शतक बनाएका हुन् ।

उनले प्रधानमन्त्री कपको अघिल्ला संस्करणमा तीन र जारी संस्करणमा दुई शतक बनाएका हुन् । उनले सातवटा अर्धशतक पनि प्रहार गरेका छन् ।

null

००

सर्वाधिक रनको कीर्तिमान

त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यान विनोद भण्डारी प्रधानमन्त्री कप क्रिकेटको इतिहासमा सबैभन्दा बढी रन जोड्ने खेलाडी पनि बनेका छन् ।

उनले प्रधानमन्त्री कपको ६१ खेलको ५६ पालीमा कुल एक हजार आठ सय २२ रन बनाएका छन् । यस क्रममा उनले पाँच शतक र सात अर्धशतक प्रहार गरेका छन् ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा आसिफ शेख दोस्रो स्थानमा छन् । उनले ५० खेलको ५० पालीमा कुल एक हजार ६ सय ६२ रन बनाएका छन् । उनले चार शतक र आठ अर्धशतक प्रहार गरेका छन् ।

००

सर्वाधिक योगफलको कीर्तिमान

प्रधानमन्त्री कप क्रिकेटको जारी संस्करणमा सर्वाधिक योगफलको कीर्तिमान पनि बनेको छ । एपीएफ क्लबले मधेश प्रदेशविरुद्धको खेलमा पाँच विकेट गुमाएर तीन सय ९० रन बनाएको थियो ।

प्रधानमन्त्री कपको इतिहासमा कुनै पनि टोलीले बनाएको यो नै सर्वाधिक योगफल हो । त्यसअघि यो कीर्तिमान त्रिभुवन आर्मी क्लबको नाममा थियो ।

यही संस्करणमा आर्मी क्लबले कोशी प्रदेशविरुद्ध आठ विकेट गुमाएर तीन सय ६२ रन बनाएको थियो । तेस्रो ठूलो योगफल पनि यही संस्करणमा बन्यो । नेपाल पुलिस क्लबले एपीएफ क्लबविरुद्ध नौ विकेट गुमाएर तीन सय ५५ रन बनाएको थियो ।

००

एकै संस्करणमा सर्वाधिक रन

गण्डकी प्रदेशका ब्याट्सम्यान अर्जुन कुमाल प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको एउटै संस्करणमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् ।

जारी प्रधानमन्त्री कपमा उनले बनाएको रन संख्या पाँच सय चार पुगेको छ । उनले नौ खेलमा दुई शतक र दुईवटा अर्धशतकको मद्दतले यो रन बनाएका हुन् ।

एउटै संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा एपीएफ क्लबका आसिफ शेख रहेका छन् । आसिफ शेखले जारी संस्करणमा कुल चार सय ५७ रन बनाए ।

यस क्रममा उनले दुई शतक र एक अर्धशतक प्रहार गरे ।

null

००

सर्वाधिक छक्काको कीर्तिमान

एपीएफ क्लबका आसिफ शेख प्रधानमन्त्री कपको इतिहासमा एकै पालीमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बने । उनले मधेश प्रदेशविरुद्धको खेलमा १७ वटा छक्का हिर्काएका थिए ।

यसअघि यो कीर्तिमान सौरभ खनालको नाममा थियो । उनले सन् २०१७ मा खेलिएको एपीएफ क्लबविरुद्धको खेलमा ११ छक्का हिर्काएका थिए । त्यतिबेला उनी पश्चिमाञ्चलको टोलीमा थिए ।

००

बाउन्ड्रीबाट सर्वाधिक रन

एउटै खेलमा बाउन्ड्री (छक्का र चौका)बाट सर्वाधिक रन बटुल्ने कीर्तिमान पनि आसिफ शेखकै नामसँग जोडिएको छ । उनले मधेश प्रदेशविरुद्धको खेलमा यस्तो कीर्तिमान बनाएका हुन् ।

उक्त खेलमा आसिफ शेखले बाउन्ड्रीबाट एक सय ६२ रन बटुले । उनले १७ छक्का र १५ वटा चौका प्रहार गरेका थिए । यो सूचीमा आर्मीका विनोद भण्डारी दोस्रो स्थानमा छन् । उनले यही संस्करणको कोशी प्रदेशविरुद्धको खेलमा बाउन्ड्रीबाट एक सय १४ रन बनाए । उनले पाँच छक्का र २१ चौका हिर्काएका थिए ।

००

सर्वाधिक विकेटको कीर्तिमान

नेपाल पुलिस क्लबका ललित राजवंशीले प्रधानमन्त्री कप क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान आफ्नो नाममा पारे ।

उनले प्रधानमन्त्री कपको ५३ खेलको ५१ पालीमा कुल एक सय २५ विकेट लिइसकेका छन् । जारी संस्करणमा मात्र उनले १७ विकेट लिएका छन् ।

प्रधानमन्त्री कपमा दोस्रो सर्वाधिक विकेट लिने बलर आर्मी क्लबका साहब आलम हुन् । उनले कुल एक सय २० विकेट लिएका छन् । यो संस्करणमा उनले १४ विकेट लिइसकेका छन् । 

००

एकै पालीमा सर्वाधिक विकेटको कीर्तिमान

प्रधानमन्त्री कपको यही संस्करणमा सुदूरपश्चिम प्रदेशका हेमन्त धामी र बागमती प्रदेशका सन्दीप लामिछानेले एउटै खेलमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमानसँग बराबरी गरेका छन् ।

हेमन्तले बागमती प्रदेशविरुद्धको खेलमा सात विकेट लिएका थिए । लामिछानेले कर्णाली प्रदेशविरुद्धको खेलमा सात विकेट लिएका थिए ।

सन् २०२४ मा दीपेन्द्रसिंह ऐरी, सन् २०१९ मा कुमार थापा र सन् २०२५ मा दीपेन्द्र रावतले पनि एउटै खेलमा सात विकेट लिएका थिए ।

००

सन्दीप जोराको नाममा जोडिएको यो कीर्तिमान

यही संस्करणबाट एपीएफ क्लबका सन्दीप जोरा प्रधानमन्त्री कप पुरुष क्रिकेटको इतिहासमा सर्वाधिक क्याच लिने खेलाडी बनेका छन् ।

प्रधानमन्त्री कपमा उनले हालसम्म कुल ४१ क्याच लिएका छन् । जारी संस्करणमा उनले सातवटा क्याच लिइसकेका छन् ।

यो सूचीमा दोस्रो स्थानमा रोहित कुमार पौडेल छन् । उनले प्रधानमन्त्री कपमा कुल ३८ क्याच लिएका छन् । एपीएफ क्लबका रोहितले यो संस्करणमा पनि सर्वाधिक १० क्याच लिएका छन् ।

००

सबैभन्दा बढी खेल खेल्ने विनोद भण्डारी

त्रिभुवन आर्मी क्लबका विनोद भण्डारी प्रधानमन्त्री कप क्रिकेटको इतिहासमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी बनेका छन् । उनले प्रधानमन्त्री कपमा हालसम्म ६१ खेल खेलिसकेका छन् ।

विनोद कप्तानको रूपमा सबैभन्दा बढी प्रधानमन्त्री कप खेल्ने खेलाडी पनि हुन् ।

यो सूचीमा दोस्रो स्थानमा पनि आर्मी क्लबकै साहब आलम छन् । उनले प्रधानमन्त्री कपमा हालसम्म ५९ खेल खेलिसकेका छन् । तेस्रो स्थानमा रहेका रोहित पौडेलले ५८ खेल खेलेका छन् ।

 

 

salt training

कमेन्ट गर्नुहोस्