
ललितपुर, २० पुस- स्कूलबाट घर फर्किरहेकी १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुर प्रहरीले ८४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
गोरखा सिरानचोक गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल ललितपुरको खोकना भैंसेपाटीमा बस्दै आएका टेकबहादुर बस्नेतलार्इ प्रहरीले पक्राउ गरेको हो । बस्नेत खोकनामा गाईपालन गर्दै आएका थिए ।
पुस ११ गते दिउँसो २ बजे स्कूलबाट घर फर्किदै गरेकी १० वर्षकी बालिकालाई मानिसको बसोबास नभएको टहरा नजिकै रहेको शौचालयमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले बस्नेतलाई गाई फार्मबाटै पक्राउ गरेको छ ।
पीडित बालिका र बस्नेत छिमेकि हुन् ।
'चिनेजानेका हजुरबाले स्कूलबाट फर्कदै गर्दा मलाई बोलाउनु भएको थियो । नजिकै बस्दै आएका हुनाले म गएको हूँ। पछि उहाँले मलाई जबरजस्ती गर्नु भयो मैले यो कुरा घर गएर आमालाई भनेको थिएँ ।' पीडित बालिकाले प्रहरीलाई बयान दिएकी छन् ।