
काठमाडौँ, २१ पुस - अबको २० दिनमै राष्ट्रिय सभा निर्वाचन गर्न सकिने खबर नयाँ पत्रिकाले छापेको छ | तर सरकार र निर्वाचन आयोगले ढिलाई गरिरहेको पनि समाचारमा उल्लेख छ |
पत्रिकाका अनुसार -
प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेकाले आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्छ ।
सरकारले चाहेमा २४ पुसभित्र प्रदेश प्रमुख नियुक्ति गर्न सक्छ । यस्तै २५ पुसभित्र निर्वाचनको मिति घोषणा गर्न साकिन्छ | निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने व्यवस्था छ । आयोगले मिति घोषणा भएको बढीमा २५ दिनभित्र निर्वाचन गर्न सकिने बताउँदै आएको छ । जबकि, त्योभन्दा चाँडै निर्वाचन गर्न सकिन्छ । सरकार र आयोगले चाहेमा १५ माघभित्रै राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न सकिने देखिन्छ ।
आयोगले प्रदेश सभाको निर्वाचन परिणाम घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था छ । सरकारले सोमबारभित्र प्रदेश प्रमुख नियुक्त गरेमा पुस मसान्तभित्रै आयोगले प्रदेश प्रमुखसमक्ष निर्वाचन प्रतिवेदन बुझाउन सक्छ । सरकारलाई सातै प्रदेशका प्रमुख नियुक्त गर्न अप्ठ्यारो भएमा एक प्रदेशको नियुक्त गरेर सातै प्रदेशको जिम्मेवारी दिन सकिने व्यवस्था पनि संविधानमै छ । जुन काम सरकारले चाहेमा तत्काल गर्न सक्छ ।
आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न पुस मसान्तसम्मको समय दिइसकेको छ । जबकि यो काम पनि बढीमा सात दिनभित्रै सकिन्थ्यो । आयोगकै तालिकाअनुसार पुस मसान्तभित्र दल दर्ता हुनेछन् ।
प्रदेश सभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखसमक्ष र अन्य सदस्यले ज्येष्ठ सदस्यसमक्ष शपथ लिने व्यवस्था छ । यो काम २ माघभित्रै सकिन्छ ।
मिति तोकिएपछि आयोगले न्याय परिषद्को परामर्शमा निर्वाचन अधिकृतको नियुक्ति गर्छ । यो काम बढीमा दुई दिनभित्र सकिन्छ । अति ढिलो गरे माघ पहिलो साताभित्र निर्वाचन अधिकृत तोक्न सकिन्छ ।
आयोगले मतदाता नामावली तयार गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुन्छन् । जुन संख्या र नामावली प्रस्टै हुन्छ । आयोगले धेरै ढिलो गरे पनि दुई दिनभित्र यो काम सम्पन्न गर्न सक्छ ।
१२ माघभित्र मनोनयन र अन्तिम नामावली प्रकाशन सकिन्छ |
आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेपछि तीन दिन प्रचार–प्रसारको समय छुट्याउँदा पनि १५ माघमा निर्वाचन सम्पन्न गर्न सकिन्छ । हरेक प्रदेशमा छुट्टाछुट्टै मतदान केन्द्र हुने भएकाले मतगणना पनि एक दिनमै सकिन्छ । अर्थात्, मतदान भएको भोलिपल्ट निर्वाचन परिणाम आउनेछ ।