
काठमाडौं, २१ पुस — भारतको बिहारमा चारा घोटालामा १६ जना दोषीहरूलाई बिहीवार सजाय सुनाउनुपर्नेमा बहस पूरा नभएकाले शुक्रवारलाई टरेको छ । राँची अदालतले आज सजाय सुनाउन सक्ने सम्भावना छ ।
बिहीवार बहसका क्रममा लालुले न्यायाधीशसँग यस्तो कुरा गरे ।
लालु : न्यायाधीश साप, जेलमा अनेका समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यहाँ मानिसहरूलाई भेट्न दिइँदैन । चिसो पनि धेरै हुन्छ ।
न्यायाधीश : त्यसैले त तपाईंलाई अदालत बोलाइएको हो । यहाँ तपाईंले मानिसहरूसँग भेटघाट गर्न पाउनुहुन्छ । चिसो लाग्यो भने जेलमा हार्मोनियम तबला बजाउनुस्, मस्त रहनुस् ।
लालु : मैले केही गरेको छैन, न्यायाधीश साप ! म निर्दोष छु ।
न्यायाधीश : त्यतिखेर मुख्यमन्त्री र अर्थमन्त्री तपाईं नै हुनुहुन्थ्यो । तपाईंले तत्कालै कारवाही गर्नुभएन । तपाईं जानुस् । आज त तपाईंको पालो पनि होइन ।
लालु : म पनि वकिल हुँ, न्यायाधीश साप !
न्यायाधीश : तपाईं जेलमा नै कुनै डिग्री लिनुस् ।
लालु : ठन्डा दिमागले सोच्दा सबै ठीक हुन्छ, न्यायाधीश साप !
न्यायाधीश : म कसैको कुरा सुन्दिनँ । तपाईंका शुभचिन्तकहरूको फोन मलाई टाढा टाढाबाट आइरहेको छ । तर म कानूनबमोजिम नै काम गर्छु । तपाईंलाई अदालत आउन समस्या छ भने भिडियो कन्फेरेन्सिङको सहायता लिन सकिन्छ ।
लालु : हैन, म अदालत आउँछु । अदालत आउन कुनै समस्या छैन ।
न्यायाधीश : हामी तपाईंलाई कसैले थाहा नपाउने समयमा बोलाउनेछौं ।
अदालतबाट निस्केपछि लालुले आफूलाई अदालतप्रति पूर्ण विश्वास रहेको प्रतिक्रिया पत्रकारहरूलाई दिएका छन् ।
उनी आफैंले शुक्रवार फैसला आउने बताए । यो सबै षड्यन्त्र भारतीय जनता पार्टीले रचेको पनि उनले बताए । उसैले उनीविरुद्ध सबै हत्कण्डा अपनाएको उनको भनाइ थियो ।
एजेन्सी