
नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको छ ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो ।
चलचित्रको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपाली वादीले रिट दायर गरेकी थिइन् । निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने बताएको हो ।
यसअघि यही वैशाख १५ गते अदालतले चलचित्रको प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रदर्शन अनिश्चित बनेको थियो ।
रोशनीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।
रोशनीले चलचित्रको केही दृश्य र संवादमा ‘वादी’ शब्दको प्रयोग गरी उक्त समुदायलाई लक्षित गरेर नकारात्मक भूमिकामा चित्रण गरिएको र ‘राजासाहेवको चढाउने प्रसाद, राजाको सामान’ जस्ता अपमानजनक शब्दहरू प्रयोग गरिएको दाबी गर्दै रिट दायर गरेकी थिइन् । यसले वादी समुदायको आत्मसम्मानमा चोट पुग्ने जिकिर गरिएको थियो ।
अब चलचित्र यही वैशाख २५ गते शुक्रबारदेखि हलमा लाग्ने भएको छ ।
कार्यकारी निर्माता प्रदीप भट्टराईले छोरीका लागि आमाले गर्ने संघर्षको कथामा आधारित यस फिल्मलाई दर्शकमाझ ल्याउन आतु रहेको बताएका छन् ।
‘सम्मानित अदालतको आदेशपछि हाम्रो फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ । छोरीका लागि आमाले गर्ने संघर्षको कथामा आधारित यस फिल्मलाई दर्शकमाझ ल्याउन हामी तयार छौं । आगामी शुक्रबार, अर्थात् वैशाख २५ गतेदेखि, तपाईंले यो फिल्म आफ्नो नजिकको सिनेमा घरमा हेर्न सक्नुहुनेछ’, प्रदीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस फिल्मको उद्देश्य कुनै पनि समुदाय वा वर्गलाई ठेस पुर्याउनु थिएन र होइन । हामीले आमा र छोरीबीचको सुन्दर र मन छुने भावनात्मक कथा प्रस्तुत गरेका छौं । हामी हलमा तपाईंहरूसँग भेट्न र साक्षात्कार गर्न आतुर छौं ।’