कहिले फूपू, कहिले माइजू त कहिले ममीको साथी भन्दै स्कूले बालबालिकाले लगाएका गहना चोर्ने गरेको आरोप लागेकी महिला १९औं पटक पक्राउ परेकी छन् ।
बच्चालाई जुस, आइसक्रिम र बिस्कुट खुवाएर विश्वास जित्ने अनि क्षणभरमै कानको सुन चोरी गरेर फरार हुने गरेको आरोपमा पक्राउ परेकी ती महिला हुन्, अम्बिका पुलामी मगर ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अम्बिका हाल पुन: प्रहरी हिरासतमा छिन् ।
बालबालिकालाई लक्षित गरेर चोरी गर्ने शैलीमा उनी यसअघि पनि पटक–पटक पक्राउ परिसकेकी छन् । प्रहरीका अनुसार यो उनको १९ औँ गिरफ्तारी हो ।
पछिल्लो घटना वैशाख ६ गते पोखराको हेम्जा रामचोक क्षेत्रमा भएको थियो ।
दिउँसो एक ६ वर्षीया बालिकाको कानबाट करिब एक लाख रुपैयाँ बराबरका दुई वटा सुनका मुन्द्रा हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए ।
त्यसपछि प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गरेको थियो ।
फुटेजमा रेनकोट लगाएकी एक महिला पहेँलो स्कुटरमा आएर बालिकासँग नजिकिएको देखिएको थियो । ती महिलाले बालिकालाई स्कुटरमा राखेर जुस खुवाएको र त्यसपछि मौका छोपेर कानको मुन्द्रा चोरी गरेर फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले स्कुटर नम्बर ट्रेस गरेको थियो ।
उक्त स्कुटर पोखरास्थित ‘ए वन मोटरबाइक रेन्टल एन्ड टुर्स’बाट भाडामा लिइएको खुलेपछि अनुसन्धान अम्बिकातर्फ केन्द्रित भएको थियो । प्रहरीले वैशाख १७ गते पोखराको महेन्द्रपुलबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार अम्बिकाले बालबालिकासँग अत्यन्त योजनाबद्ध ढंगले सम्बन्ध बनाउने गर्थिन् । उनी आफन्तजस्तै व्यवहार गर्दै ‘म तिम्रो फूपू हुँ’ , ‘माइजू हुँ’ वा ‘तिम्रो ममीको साथी हुँ’ भनेर बच्चाहरूलाई विश्वासमा पार्थिन् । त्यसपछि आइसक्रिम, जुस वा बिस्कुट किनिदिएर बच्चालाई सहज बनाउने र मौका मिल्नेबित्तिकै कानको सुन निकालेर फरार हुने गरेको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले यसअघि भएका केही घटनामा उनले सक्कली मुन्द्रा चोरी गरेर बच्चाको कानमा लगाइदिने गरेको तथ्यसमेत फेला पारेको छ । यसले गर्दा कतिपय परिवारलाई चोरी भएको थाहा पाउन नै ढिला हुने गरेको थियो ।
प्रहरीका अनुसार अम्बिका विद्यालय छुट्ने समय कुर्थिन् ।
विद्यालयको गेट आसपास एक्लै हिँडिरहेका बालबालिकालाई पछ्याएर आफन्तको नाता जोड्ने, खानेकुरा किनिदिने र एकान्तमा लगेर मुन्द्रा चोरी गर्ने उनको शैली रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार कास्कीमा बालबालिकाको मुन्द्रा चोरीको घटना आउनेबित्तिकै अम्बिका प्रहरीको निगरानीमा पर्ने गर्थिन् । पछिल्लो १० वर्षदेखि उनी यस्ता घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनी अहिलेसम्म १८ वटा मुद्दामा दोषी ठहर भइसकेकी छन् । जिल्ला अदालत कास्कीले विभिन्न समयमा उनीविरुद्ध फैसला सुनाइसकेको छ ।
२०७९ साल असार ८ गते मात्रै ११ वटा मुद्दामा फैसला हुँदा उनलाई दुई वर्षसम्म कैद सजाय र जरिवाना तोकिएको थियो । अन्य सात वटा मुद्दामा पनि ६ महिनादेखि डेढ वर्षसम्म कैद सजाय सुनाइएको प्रहरीको भनाइ छ ।
प्रहरी अनुसन्धानका क्रममा अम्बिका लागुऔषधको कुलतमा फसेको खुलेको छ । उनले साथीहरूको संगतमा लागुऔषध सेवन गर्न थालेको बयान दिएकी छन् । प्रहरीका अनुसार उनी नाइट्रोभ्याट, फर्मुला र डाइजापामजस्ता लागुऔषध सेवन गर्थिन् ।
लागुऔषधको लतका कारण पैसाको आवश्यकता बढेपछि बालबालिकालाई फकाएर मुन्द्रा चोरी गर्ने बाटो रोजेको उनले प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।
यो घटनाले बालबालिकालाई लक्षित गरेर हुने अपराधप्रति अभिभावक र विद्यालय थप सचेत हुनुपर्ने आवश्यकता देखाएको छ ।
प्रहरीले अपरिचित व्यक्तिसँग नजान, कसैले खानेकुरा दिए पनि नलिन र समस्या परे तुरुन्त अभिभावक वा शिक्षकलाई जानकारी दिन भनेर बालबालिकालाई सिकाउन आग्रह गरेको छ ।
हेर्नुहोस्, भिडियो: