
दुईतिहाइ निकटको सरकारसँग यस्तै (अहिलेका सभामुख डोलप्रसाद अर्यालले जस्तै) लाचारी प्रकट गर्दै तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको बैठक स्थगित गर्न पनि सर्त तेर्स्याएका थिए– २०७६ साउन १३ गते ।
सरकारसँग निरीह देखाएका महराले बैठक स्थगित गर्नका लागि पनि सर्त राखे ।
त्यो दिन के भएको थियो हेर्नुहोस्, यो लिंक :
बैठक स्थगन गर्न पनि सभामुखको सर्त, कता जाँदैछ हाम्रो संसद् ?
०७४ सालको चुनावपछि बनेको केपी ओली नेतृत्वको सरकारको संसदमाथिको दादागिरी यतिसम्म थियो कि सभामुखले सरकारलाई अप्ठ्यारो पार्ने निर्देशन नदिन संसदीय समितिका सभापतिहरूलाई सामूहिक आग्रह गरेका थिए ।
सरकारलाई नियन्त्रणमा राख्न नसकेको त्यो संसद आफैं पटक-पटक विभाजनको सिकार हुनुपर्यो ।
सरकारको मैमत्तपन रोक्न सकेको भए शायद नयाँ संविधान बनेपछिको पहिलो संसद्ले त्यो नियति भोग्नुपर्ने थिएन । बहुमतको दम्भमा सरकारले संसदलाई ‘रबर स्ट्याम्प’ बनाएको थियो ।
त्यही झल्को हिजो वैशाख ३० गते प्रतिनिधि सभाको बैठकमा देखियो । सभामुख डोलप्रसाद अर्याल सरकारसँग डराएको, भयभीत भएको र त्रसित जस्तो देखिए ।
संसदमा सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई उपस्थित गराउन विपक्षी दलले गरेको मागमा सभामुख अर्यालले सर्त राखे । प्रधानमन्त्रीलाई रुलिङ गर्नुअघि कार्यपालिका अर्थात् सरकारसँग परामर्श गर्नुपर्ने भनेर विपक्षी दललाई जवाफ फर्काए ।

जनताको सार्वभौम थलो प्रतिनिधि सभा अर्थात् संसद् नै प्रधानमन्त्री बनाउने संस्था हो । प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन्छन् । प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखले रुलिङ गर्न सक्छन्, यसमा कुनै पूर्वअनुमति लिनुपर्दैन ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, श्रम संस्कृति पार्टी र राप्रपा सबै विपक्षी दलको एउटै माग थियो– सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ ।
सरकारका नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्ने कि प्रधानमन्त्रीले तोकेको मन्त्रीले गर्ने र जवाफ कसले दिने भन्ने विषयमा दिनभर तनाव भयो । भर्खर गठन भएको प्रतिनिधि सभा बैठक एकै दिनमा ३ पटक स्थगित हुनुपर्ने अवस्था सिर्जना भयो ।
अर्यालको बोलीले शक्तिशाली कार्यपालिकासँग व्यवस्थापिका डराएको र निरीह भएको बुझ्न कठिन छैन । सभामुख भएसँगै पार्टी सदस्यता त्यागे पनि सभामुखसँग रास्वपाप्रति कहीँ न कहीँ ‘लोयल्टी’ बाँकी नै रहेको बुझ्न सकिन्छ ।
सभामुखका प्रत्येक जवाफमा रास्वपा सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए ।
रास्वपाप्रति नरम, एमालेप्रति गरम !
व्यक्तिगत रूपमा सभामुख अर्याल अत्यन्त शालीन, भद्र र राजनीतिक संस्कार बुझेका छन्, अरूप्रति छुद्र बोल्दैनन् । बुधबारकै बैठकमा पनि उनी अत्यन्त संयमित ढंगले बोलिरहेका थिए, विपक्षीसँग संवाद गरिरहेका थिए ।
तर, राज्यको एउटा अंगको नेतृत्व गरेको व्यक्ति यति लाचार बन्न मिल्दैन कि– जसलाई रुलिङ गर्नुपर्ने हो, उसैसँग सोध्नुपर्ने । सभामुख त्यस्तो लाचार बने भने संसद्को ओज र गरिमा समाप्त भएर जानेछ । त्यस्तो अवस्थामा अर्यालले संसद् र आफ्नो पदको मर्यादा राख्न सक्ने छैनन् ।
निर्वाचित भएको एक महिनामै सभामुखको भूमिकाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाइसकेको छ ।
वैशाख २८ गते संसदमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गरिरहेको समयमा प्रधानमन्त्री बाहिरिएको विषयमा सभामुखले रुलिङ नगरेको भनेर विपक्षी दलका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले रोस्ट्रमबाटै असन्तुष्टि व्यक्त गरे ।
मंगलबार एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका केही शब्द रेकर्डबाट हटाइयो । तर, रास्वपा सांसदहरूले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीविरुद्ध दिएका अभिव्यक्तिबारे सभामुख मौन रहे । यहाँ कहीँ न कहीँ सभामुखको पक्षधरता झल्कियो ।

रास्वपा सांसद पुरुषोत्तम यादवले ओलीलाई लक्षित गर्दै 'जेलमा हुनुपर्ने अपराधी अहिले अस्पतालको बेडमा छ' भनेर चैत्र २५ गते टिप्पणी गरेका थिए ।
‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूतले आज कमरेड बादललाई छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु, एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्,’ यादवले ओलीप्रति लक्षित गर्दै भनेका थिए, ‘किनकि, आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो, त्यो हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदैछ ।’
ओलीलाई अपराधी मात्र होइन, भूत–प्रेतजस्ता अन्धविश्वासका कुरा पनि गरिएको थियो । एमाले उपाध्यक्ष गुरू बरालले लगत्तै नियमापत्ति गरेर त्यो शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे ।
मंगलबारको बैठकमा रास्वपाकै रमेश प्रसाईंले ओली र रमेश लेखकलाई ‘नरसंहारका अभियुक्तद्वय’ भनेर आक्षेप लगाए, सो अभिव्यक्तिविरुद्ध एमाले सांसदहरूले आपत्ति जनाए । ऐन महरले ‘नरसंहारकारी’ भन्ने शब्द किन हटेन ? भनेर प्रश्न गरेका थिए ।
वैशाख ३१ गते सभामुखले अशिष्ट र अमर्यादित शब्द नबोल्न रुलिङ त गरेका छन् । तर, एकपक्षीय जस्तो देखिएको संसदलाई सन्तुलनमा राख्न सकेको भान भएको छैन ।
छोटै भएपनि नेपलको संसदीय इतिहासमा कयौं सभामुख बनिसकेका छन्, तर पनि कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङको नाम मात्र स्मरण गरिन्छ ।
दमननाथले नै ‘सरकार सत्तापक्षको र संसद विपक्षीको’ भन्ने मान्यता स्थापित गरेका थिए । हालका सभामुखले पनि त्यो तटस्थता कायम राख्न सकून्, अहिलेलाई त्यही अपेक्षा गरौं ।
पढ्नुहोस्, यो पनि:
एमाले-रास्वपा 'भिडन्त'मा सभामुखलाई भइरहेको सकस
सभामुख र प्रमुख प्रतिपक्षीबीचको द्वन्द्वले अन्योलमा संसद्को भविष्य