
काठमाडौं, २३ पुस — प्रायः देशहरूमा उत्तिकै काम गरेपनि महिलालाई पुरुषको भन्दा कम तलब दिने गरिएको छ । तर युरोपेली मुलुक आइसल्यान्डले देशमा रहेका सबै कम्पनीलाई महिला पुरुषको तलब बराबर गर्नुपर्ने कानून बनाएको छ ।
एउटै पदमा काम गर्ने महिला र पुरुषको तलबमा अन्तर कसरी हुन्छ भनी कम्पनीहरूले उचित कारण पेश गर्न सकेनन् ।
खासमा आइसल्यान्ड सरकारले अघिल्लो वर्ष विश्व महिला दिवसको अवसरमा यो निर्णय लिएको थियो । सन् २०१८ को जनवरी १ बाट यो कानून आइसल्यान्डमा लागू भइसकेको छ ।
सरकारका अनुसार, २५ वा त्यसभन्दा बढी कर्मचारी भएको कम्पनीले महिला तथा पुरुष कर्मचारीलाई बराबरी तलब दिएको कागजपत्र पेश गर्नुपर्नेछ । तलबमा अन्तर भेटिएमा कम्पनीमाथि भारी जरिवाना लगाइनेछ ।
लैंगिक आधारमा तलबमा भेदभावलाई पूरै अन्त्य गर्नका लागि यो कदम उठाइएको हो । वर्ल्ड इकोनोमिक फोरमको सूचीमा महिलाहरूको अधिकारलाई ध्यान दिने देशमा आइसल्यान्ड विगत नौ वर्षदेखि शीर्ष स्थानमा छ ।
अन्य देशमा पुरुषको तुलनामा महिलाको तलब २५ प्रतिशतसम्म कम भएको तथ्यांक पाइन्छ ।
एजेन्सी