
इरानकी नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी उपचारका लागि अस्पतालको लामो बसाइपछि सोमबार घर फर्किएकी छन् ।
इरानी महिलाको अधिकारका लागि लामो समयदेखि सङ्घर्षरत मोहम्मदी अस्पतालमा रहेका समय बिरामी परेपछि उनलाई स्वास्थ्यको कारण देखाउँदै जमानतमा रिहा गरिएको थियो ।
रिहाइपछि तत्काल उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
‘डिस्चार्ज’ भएपछि मोहम्मदी तेहरानस्थित आफ्नो घर फर्किएको उनका परिवार र शुभचिन्तकहरूले सोमबार जानकारी दिएका छन् ।
सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदी मुटुसम्बन्धी रोगबाट पीडित भएकाले उनलाई घरमा आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । सबैभन्दा पछिल्लो पटक डिसेम्बरमा भएको गिरफ्तारीपछि उनको स्वास्थ्यमा निकै समस्या देखिएको बताइएको छ ।
मोहम्मदीको फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मोहम्मदीलाई १८ दिनसम्म जेलमा र तेहरानस्थित एक अस्पतालमा अर्को १८ दिन उपचारपछि आइतबार घर ल्याइएको छ ।”
अस्पतालमा गरिएको परीक्षणले मुटु र रक्तचापको समस्या ‘लामो, गम्भीर मनोवैज्ञानिक दबाब, दीर्घकालीन चिन्ता र तीव्र वातावरणीय तनाव’ सँग सम्बन्धित रहेको पुष्टि गरेको छ ।
उनको स्वास्थ्यलाभका लागि कारागारको पर्खालबाहिर कडा चिकित्सा निगरानीको माग गरिएको छोरी कियाना रहमानीले जानकारी गराइन् ।
रहमानीले भनिन्, “उनलाई हिरासतमा फर्काउनु मृत्युदण्डको सजाय दिनु बराबर हो ।”
“हामीले यो सुनिश्चित गर्नुपर्दछ कि उनी अब स्वतन्त्र रहून् र उनीमाथि लागेका सबै आधारहीन आरोपहरू स्थायी रूपमा हटाइयोस् र उत्पीडन अन्त्य होस्,” छोरी रहमानीले भनिन् ।
रहमानी उनका जुम्ल्याहा भाइ अलीसँग पेरिसमा बस्छिन् र उनीहरूले एक दशकभन्दा बढी समयदेखि आफ्नी आमालाई देखेका छैनन् ।
मोहम्मदीलाई मे १० मा जमानतमा रिहा गरिएको थियो र उनलाई उपचारका लागि तेहरान सारिएको थियो ।
उनका समर्थकहरूले उनलाई दुई पटकसम्म हृदयघात भएको दाबी गर्दै मोहम्मदीको जेलमै मृत्यु हुने खतरा बढेको भन्दै आवाज उठाएपछि उनलाई स्वास्थ्यको कारण देखाउँदै रिहा गरिएको थियो ।
उनको कानुनी टोलीले मोहम्मदीलाई सुरक्षासँग सम्बन्धित विभिन्न आरोपहरूमा सञ्चित सजाय भोग्न अझै १८ वर्ष बाँकी रहेको बताएको छ ।
“इरान र संयुक्त राज्य अमेरिका र इजरायलबीचको युद्धका कारण उनको स्वास्थ्य अवस्था प्रभावित भएको छ,” मोहम्मदीका समर्थक र कानुनी टोलीले दाबी गरेको छ, “उनलाई राखिएको जेल नजिकै कम्तीमा तीन हवाई आक्रमण भएका थिए ।”
आफ्नो सक्रियताका लागि विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताएकी ५४ वर्षीया मोहम्मदीलाई हालै डिसेम्बरमा एक वकिलको अन्त्येष्टिमा इस्लामिक गणतन्त्रको निन्दा गरेपछि पक्राउ गरिएको थियो ।
उनले इरानी कुर्द महिला महसा अमिनीको हिरासतमा भएको मृत्युपछि सन् २०२२ र सन् २०२३ का विरोध प्रदर्शनलाई कडा समर्थन गरेकी थिइन् तर यस वर्ष जनवरीमा सुरु भएको प्रमुख प्रदर्शनअघि उनलाई पक्राउ गरिएको थियो ।
अधिकारवादी समूहहरूले जनवरीमा भएको विरोध प्रदर्शन र इस्लामिक गणतन्त्रविरुद्ध अमेरिका–इजरायल युद्धमा दशौँ हजार मानिस पक्राउ परेका छन् भने अधिकारवादी समूहहरूले राजनीतिक बन्दीका रूपमा हेरेका दोषीहरूलाई मृत्युदण्ड दिने क्रम इरानले बढाएको बताएका छन् ।