१४ असार २०८३, आइतबार

विद्या बालनलगायतका चर्चित सेलेब्रिटी जो यो वर्ष  देखिने छैनन् पर्दामा

पुस २४, २०७४
विद्या बालनलगायतका चर्चित सेलेब्रिटी जो यो वर्ष  देखिने छैनन् पर्दामा

बलिउडमा सन् २०१८ मा थुप्रै फिल्म रिलिज हुँदै छन् । तर, चर्चित केही सेलेब्रिटीका फिल्म भने यो वर्ष दर्शकले हेर्न पाउने छैनन् । त्यो किन हो भने, कतिपय कलाकारको हातमा फिल्म परेका छैनन् । अनि कुनै कलाकारको यो वर्ष फिल्म सुटिङ त हुँदै छ, तर प्रदर्शन मिति सन् २०१९ लाई तोकिएको छ । भारतीय अनलाइनले उल्लेख गरेअनुसार सन् २०१८ मा प्रियंका चोपडा, विपाशा बसु, विद्या बालन, विवेक ओबरायलगायतका चर्चित सेलेब्रिटीका फिल्म रिलिज हुने छैनन् ।

विद्या बालन

सन् २०१८ मा दर्शकले विद्या बालनको नयाँ फिल्म हेर्न पाउने छैनन् । सन् २००५ मा ‘परिणीति’ फिल्मबाट हिरोइन बनेकी विद्याले त्यसपछि ‘लगे रहो मुन्ना भाइ’, ‘भुलभुलैया’, ‘डर्टी पिक्चर’, ‘कहानी’लगायतका सुपरहिट फिल्म दिएकी छिन् । पछिल्लो समय गत वर्ष उनको ‘तुम्हारी सुल्लु’ रिलिज भएको थियो । तुम्हारी सुल्लु फ्लप भयो । अचेल विद्या फिल्मविहीन छिन् ।

आदित्य राय कपुर

आदित्य राय कपुरलाई पनि सन् २०१८ मा पर्दामा देख्न पाइने छैन । सन् २००९ मा ‘लन्डन ड्रिम्स’ नामक फिल्मबाट डेब्यु गरेका आदित्यको पछिल्लोपटक गत वर्ष ‘ओके जानू’ रिलिज भएको थियो । फिल्म चलेन । ‘आशिकी २’बाट हिरोका रूपमा चर्चित भएका आदित्यको त्यसपछिको करिअरले उचाइ लिन सकेको छैन ।

विपाशा बसु

विपाशा बसु फिल्मविहीन भएको धेरै भइसक्यो । करणसिंह ग्रोबरसँग बिहे गरेपछि उनको हातमा फिल्म परेको खबर आएको छैन । यद्यपि विपाशा र करणले गत वर्ष एउटा कन्डमको विज्ञापनमा सँगै अभिनय गरेका थिए । विपाशाको हातमा कुनै फिल्म नपरेकाले दर्शकले उनलाई यो साल पनि पर्दामा हेर्न पाउने छैनन् । उनको प्रदर्शित पछिल्लो फिल्म सन् २०१५ को ‘अलोन’ हो ।

प्रियंका चोपडा

सन् २०१८ मा दर्शकले प्रियंका चोपडाको नयाँ फिल्म हेर्न पाउने छैनन् । किनभने, प्रियंकाले यो वर्ष रिलिज हुने कुनै फिल्म साइन गरेकी छैनन् । उनी अब छिट्टै नै रियालिटी सो ‘इन्डियाज नेक्स्ट सुपरस्टार’मा व्यस्त हुनेछिन् । त्यसकारण उनले अफर आएका फिल्म साइन नगरेको बताइन्छ । गत वर्ष अर्थात् सन् २०१७ मा उनको ‘बेवाच’ नामक हलिउड फिल्म रिलिज भएको थियो । बेवाच फ्लप भएको थियो ।

आथिया सेट्टी

अभिनेता सुनील सेट्टीकी छोरी आथिया पनि फिल्मविहीन छिन् । सन् २०१५मा ‘हिरो’ फिल्मबाट हिरोइन बनेकी उनको गत वर्ष ‘मुबारका’ रिलिज भएको थियो । तर, मुबारकाले कुनै कमाल देखाउन सकेन ।

वाणी कपुर

वाणी कपुर बलिउडमा चल्न नसकेकी हिरोइन हुन् । सन् २०१३मा रिलिज भएको ‘शुद्ध देशी रोमान्स’बाट हिरोइन बनेकी उनी पनि फिल्मविहीन छिन् । त्यसैले यो वर्ष दर्शकले उनलाई पर्दामा हेर्नुपर्ने छैन । उनको प्रदर्शित अन्तिम फिल्म ‘बेफिक्रे’ हो । जुन, सन् २०१६ मा रिलिज भएको थियो ।

निमरत कौर

अभिनेत्री निमरत कौर पनि फिल्मविहीन छिन् । त्यसकारण यो वर्ष उनलाई पर्दामा देख्न पाइने छैन । सन् २००५मा ‘यहा’ नामक फिल्मबाट डेब्यु गरेकी निमरतको सन् २०१६ मा ‘एअरलिफ्ट’ रिलिज भएको थियो । उनले ‘वान नाइट विथ द किङ’, ‘द लन्च बक्स’, ‘होमल्यान्ड’लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

श्रुति हसन

अभिनेत्री श्रुति हसनलाई पनि यो वर्ष पर्दामा हेर्न पाइने छैन । श्रुतिले अहिलेसम्म नयाँ फिल्म साइन नगरेकाले त्यसो भएको हो । सन् २००९ मा ‘लक’ फिल्मबाट डेब्यु गरेकी श्रुतिको पछिल्लो फिल्म ‘बहन होगी तेरी’ हो । गत वर्ष रिलिज भएको त्यो फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । अभिनेता कमल हसनकी छोरी श्रुति दक्षिण भारतीय फिल्ममा निकै व्यस्त हुने गर्दछिन् । उनको दक्षिण भारतीय फिल्ममा वर्चस्व छ । नयाँ पत्रिकाबाट 

salt training

कमेन्ट गर्नुहोस्