काठमाडौं, २४ पुस — भारतले मंगल ग्रहमा यान पठाउन सफल भएको भएपनि भारतको जनसंख्याको ठूलो हिस्सा अहिले पनि भोकै सुत्छ । भारतमा अनाज कम उत्पन्न भएपनि आवश्यकता भएकाहरूकहाँ पुग्न सकेको छैन ।
संयुक्त राष्ट्रसंघीय निकाय फूड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) ले यससम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ ।
एफएओको प्रतिवेदनअनुसार, भारतले हरेक वर्ष २४४ करोड भारुबराबरको खाना बर्बाद गर्ने गरेको छ । विडम्बनाको कुरा त, भारतमा नै दिनदिनै १९ करोड ४० लाख मानिस भोकै सुत्छन् ।
बर्बाद भएका खानेकुरामा दुई करोड टन गहुँसँग सम्बन्धित उत्पादन हो । बाली काट्दाखेरी भएको नोक्सानी लगभग एक लाख करोड भारुबराबर हुन्छ । कुल उत्पादित खाद्यसामग्रीको ४० प्रतिशत भाग हरेक वर्ष बर्बाद हुन्छ ।
प्रतिवेदनअनुसार, भारतको जनसंख्यालाई खुवाउनका लागि हरेक वर्ष २३ करोड टन खाना आवश्यक हुन्छ । तर सन् २०१५–१६ मा २७ करोड टन उत्पादन भएको थियो ।
विश्व भोक सूचकांक (वर्ल्ड हंगर इन्डेक्स) मा भारतको स्थिति त्यति राम्रो छैन । एक सय १९ देशमा भारत सयौं स्थानमा छ । बेलायतका मानिसले जति खान्छन्, त्यति त भारतीयले बर्बाद गर्ने गरेको प्रतिवेदनले देखाउँछ ।
एजेन्सी