०७ साउन २०८३, बिहीबार

प्रदेश प्रमुख नियुक्ति अन्योलमा, अस्थायी राजधानी तोक्न सरकारलाई राष्ट्रपतिको सुझाव

प्रदेश प्रमुख नियुक्ति अन्योलमा, अस्थायी राजधानी तोक्न सरकारलाई राष्ट्रपतिको सुझाव

काठमाडौं २४ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुविधा पुग्नेगरी प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई सुझाव दिएकी छिन् । सरकारले प्रदेशको राजधानी नतोकि प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तयारी गरिरहेको समयमा राष्ट्रपतिको सो सुझावपछि प्रदेश प्रमुख नियुक्ति अन्योलमा परेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा मंगलवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रदेशको राजधानी तोक्न सरकारलाई सुझाव दिएकी हुन् । प्रधानमन्त्रीका सहयोगीहरुले राष्ट्रपतिबाट प्रदेशको राजधानी तोक्न सुझाव आएको बताएका छन् । यसअघि सरकारले प्रदेशको राजधानी नतोकि प्रदेश प्रमुख मात्र नियुक्ति गर्ने तयारी गरेको थियो । 

कानून मन्त्री यज्ञबहादुर थापाले सोमवार मन्त्रिपरिषद्को बैठकमार्फत प्रदेश प्रमुख नियुक्त गर्ने तयारी भएको आइतवार बताएका थिए । तर सरकारका अर्का एक मन्त्रीले भने सोमवार मन्त्रिपरिषद्को बैठक नभएको बताए । 

प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरेको भन्दै सूचना चुहिएपछि ठाउ ठाउमा विरोध प्रदर्शन भएको थियो । यसअघि सरकारले विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, दाङ, सुर्खेत र धनगढीमा प्रदेशको मुकाम तोक्ने तयारी गरेको सूचना राष्ट्रिय समाचार समितिले जनाएको थियो । प्रदेशको राजधानी माग्दै पूर्वको धनकुट्टा, विरगञ्ज, पश्चिमको रुपन्देही, डोटी लगायतका जिल्लामा विरोध प्रदर्शन भएका छन् ।

प्रदेशको राजधानी तोक्दा कतिपय ठाउमा जनआक्रोश बढ्ने भन्दै सरकारले अपजस लिन नचाहेको देखिएको छ । वामपन्थी गठवन्धनका नेकपा एमाले र माओवादी केन्द्रले भने प्रदेशको राजधानी तोक्न सरकारलाई दवाव दिएका छन् । 

निर्वाचन आयोगले प्रदेश सभाका लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा प्रदेश प्रमुखलाई नै बुझाउने तयारी गरेसंगै सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको थियो । गत बिहीवार भएको सर्बदलीय बैठकमा वामपन्थी गठबन्धनले प्रदेश प्रमुख तोक्न सरकारलाई समर्थन जनाएका थिए । 
फाइल तस्वीर
 
 

कमेन्ट गर्नुहोस्