
नवनियुक्त दुई मन्त्रीको शपथका बेला राष्ट्रपति कार्यालय शीतल निवासमा भीषण पानी परेको छ ।
नवनियुक्त दुई मन्त्रीहरू; गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन शीतल निवास पुगिसकेका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह पनि शीतल निवास पुगेका छन् । पानी निरन्तर परिरहेका कारण उनी छाता ओढेर शपथ समारोहको मञ्चमा पुगेका छन् ।
यसअघि दिउँसो ३ बजे शपथ गराउने भनिए पनि राष्ट्रपति कार्यालयले तयारी नपुगेको भनेपछि शपथ समारोह साढे ४ बजेका लागि सारिएको थियो ।
प्रधानमन्त्री बालेनले सुधन गुरुङलाई पुन: गृहमन्त्रीमा सिफारिस गरेका हुन् भने स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा सिफारिस गरेका हुन् ।

गुरुङ गृहमन्त्री रहेकै बेला सम्पत्ति सम्बन्धी विवादमा तानिएपछि पदमुक्त भएका थिए ।
त्यसपछि सरकारले छानबिन समिति बनाएको थियो । उक्त समितिले गुरुङलाई ‘क्लिनचिट’ दिएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
यता म्याग्दीबाट स्वतन्त्र निर्वाचित सांसद महावीर पुन भने यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।
उनले पटक पटक विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी छुट्टै मन्त्रालय बनाउन माग गरेका थिए । अन्ततः उनैले उक्त मन्त्रालयको जिम्मेवारी पाउन लागेका हुन् ।