
काठमाडौं, २९ पुस– निर्वाचन आयोगले आज सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचनको तयारीमा रहेको आयोगले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम नतोके पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागेको हो ।
आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि नै उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । आयोगको बुधबार बसेको पदाधिकारी बैठकले सातै प्रदेशका उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।
निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रियसभाको निर्वाचनका लागि आयोगमा २१ राजनीतिक दलले दर्ता गराएका छन् ।