१४ असार २०८३, आइतबार

साउदी महिलाको नयाँ इतिहास, अझै पनि यी काम गर्न पुरुषको स्वीकृति चाहिन्छ

पुस ३०, २०७४
साउदी महिलाको नयाँ इतिहास, अझै पनि यी काम गर्न पुरुषको स्वीकृति चाहिन्छ

साउदी अरबमा शुक्रबार इतिहासमै पहिलोपटक महिलाले दर्शक दिर्घामा बसेर फुटबल खेलको अवलोकन गरेका छन् । जेद्दाको एउटा स्टेडियममा फुटबल प्रतियोगिता हेर्न महिला समर्थक पनि पुगेका थिए । उनीहरू ‘फ्यामिली गेट’ बाट स्टेडियमभित्र प्रवेश गरे र ‘फ्यामिली सेक्सन’ मा बसेर म्याचको आनन्द उठाए । साउदी अरबका लागि यो एउटा ऐतिहासिक क्षण थियो । यहाँ दशकौँदेखि महिलामाथि कैयौँ प्रकारका प्रतिबन्ध कायमै छन् । जसमध्ये केहीलाई हालैका दिनमा हटाइएको छ।

महिलाका लागि कार सोरुम
यस महिना कुल तीन स्टेडियममा गएर साउदी महिलाले म्याच हेर्न सक्नेछन् । यो कार्य ती तमाम सामाजिक सुधारका प्रयासमध्ये एक हो, जसलाई यहाँका युवराज मोहम्मद सलमानको नेतृत्वमा अघि बढाइँदै छ । शुक्रबार नै साउदी अरबमा अर्काे पनि एउटा परिवर्तन भएको छ । जेद्दामा पूर्णतः महिला ग्राहकका लागि समर्पित देशकै पहिलो कार सोरुम खोलिएको छ । यसै वर्ष जुन महिनादेखि महिलालाई पहिलोचोटि कार चलाउने अनुमति पनि प्राप्त हुनेछ । गत सेप्टेम्बरमा यो प्रतिबन्ध हटाउने घोषणा गरिएको थियो ।

ऐतिहासिक दिन
जेद्दाको स्टेडियममा महिला समर्थकको स्वागतका लागि महिला कर्मचारी खटाइएका थिए । महिलाले जोडदार आवाजमा आ–आफ्नो पक्षका टिमको समर्थन गरेका थिए । महिला प्रशंसक र कर्मचारीले पारम्परिक पहिरन ‘अबाया’ पहिरिएका थिए ।

यस क्रममा सामाजिक सञ्जालमा जुन ‘ह्यासट्याग’ चलेको थियो, त्यसको अर्थ ‘मानिसहरू स्टेडियममा महिला प्रवेशको स्वागत गर्छन्’ भन्ने थियो । यस ह्यासट्यागबाट मात्र दुई घन्टामा दसौँ हजार सन्देश देखिएका थिए ।

जेद्दामा बसोवास गर्ने ३२ वर्षीया फुटबल समर्थक लामया खालिद नासिरले समाचार एजेन्सी एएफपीसित भनिन्— मलाई आजको दिन गर्वको महसुस भइरहेको छ र म यस खेललाई लिएर निकै उत्साहित छु । उनले थप अगाडि भनिन्— यसबाट प्रस्ट भएको छ कि हामी सुन्दर भविष्यतर्फ अघि बढिरहेका छौँ । आफू यति ठूलो परिवर्तनको साक्षी बन्न पाएकोमा म अत्यन्त हर्षित छु । जेद्दाकै रुवायदा अली कासिमले भनेकी छिन्— साउदी अरब आधारभूत परिवर्तनको चरम अवस्थामा छ । यो साउदी अरब र यहाँका महिलाका लागि ऐतिहासिक दिन हो ।

साउदी महिलाका लागि कडा नियम
साउदी सरकारले पछिल्लो साता महिलाले शनिबार र अघिल्लो बिहीबार हुने फुटबल खेल हेर्न स्टेडियम जान सक्ने बताएको थियो । साउदी अरबको शाही परिवार र धार्मिक प्रतिष्ठानले ‘वहाबियत’ को पालन गर्छन् । जसमा महिलाका लागि इस्लामिक नियम निकै कडा छन् ।

साउदी अरबमा महिलालाई एक्लै यात्रा गर्ने अनुमति छैन । यसक्रममा उनको साथमा परिवारका एक पुरुष सदस्य हुनु जरुरी छ । अधिकांश रेस्टुरेन्ट र क्याफेमा दुई अलग–अलग सेक्सन हुन्छन् । एउटा पुरुषका लागि र अर्को परिवारका लागि । महिलालाई परिवारवाला सेक्सनमा मात्र पति या परिवारका साथ बस्ने अनुमति हुन्छ ।

साउदी अरबमा अझै पनि महिलाले आफ्नो परिवारका पुरुषको स्वीकृतिविना निम्न काम गर्न सक्दैनन् :

१. पासपोर्टका लागि आवेदन दिन, २. विदेश यात्रा गर्न, ३. विवाह गर्न, ४. बैंक खाता खोल्न र ५. केही खास किसिमका व्यापार सुरु गर्न ।

हालैका सुधार आधुनिकीकरणको त्यो ठूलो प्रक्रियाको एउटा सानो हिस्सा मात्र हो, जसलाई युवराज मोहम्मद बिन सलमानले शासन व्यवस्थालाई केही उदार बनाउने उद्देश्यले सुरु गरेका हुन् ।

युवराज मोहम्मदको भिजनअनुसार देशको मनोरञ्जन उद्योगमा तीव्रता ल्याउने उद्देश्यले साउदी अरबमा गत डिसेम्बरमै सिनेमामाथि दशकौँ पुरानो प्रतिबन्ध पनि हटाइएको थियो । बिबिसी हिन्दीको यो समाचार टिप्पणी नयाँ पत्रिकाले छापेको छ 

salt training

कमेन्ट गर्नुहोस्