
काठमाडौं, २ माघ- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पूरीले मंगलवार शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपतिको कार्यालय बहादुरभवन कान्तिपथमा भएको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताएका थिए ।
उपराष्ट्रपति पुनले युगांैदेखिको नेपाल भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको बताए । भेटमा भारतीय राजदूत सिंहले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताएका उपराष्ट्रपति पुनको निजी सचिवालयले जनाएको छ ।
भर्खरै सम्पन्न निर्वाचनमा नेपाली जनताबाट व्यक्त मत नेपाली जनताको सार्वभौम निर्णय भएकोले भारत त्यसलाई स्वगत र सम्मान गर्ने राजदूत पुरीले बताए । उनले भारत र नेपालको सम्बन्ध राजनीतिक भौगोलिक सिमानाको सम्बन्धमात्रै सिमित नरही जनस्तरसम्म जरा गाडेको बताए । प्रविधि, पूर्वाधार, जलविद्युत, व्यापारलगायतका क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत सदैव तयार रहेको उनले बताए ।