२६ असार २०८३, शुक्रबार

प्रदेश प्रमुखमा चर्चासँगै अनुराधाको नागरिकतामा किन भयो लफडा !

प्रदेश प्रमुखमा चर्चासँगै अनुराधाको नागरिकतामा किन भयो लफडा !

काठमाडौं, ३ माघ– सरकारले प्रदेश नम्बर तीनको प्रमुखमा नियुक्त गर्ने तयारी गरेसँगै समाजसेवी अनुराधा कोइराला विवादमा तानिएकी छिन् । 

कोइरालाका विषयमा विहान बसेको मन्त्रिपरिषद् बैठकमा सहमति जुटेको समाचारहरु बाहिर सार्वजनिक भइरहँदा पूर्व सांसद सरिता गिरीले कोइरालाको नागरिकता बारे प्रश्न गरेकी छिन् । 

सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै गिरीले अनुराधाको जन्म भारतको दार्जलिङमा भएको र उनी विवाह पछि नेपाली नागरिक भएको उल्लेख गरेकी छिन् । उनले नागरिकता कानूनको सम्बन्धमा राज्यको द्वैध नीति प्रमाणित भएको आरोपसमेत लगाएकी छिन् । गिरी पनि अंगीकृत नागरिक हुन् । 

गिरीले ट्वीटमा लेखेकी छिन्, ‘अनुराधा जी को नाम प्रदेश प्रमुखमा आई रहेको छ । उनको विरुद्धमा मैले भन्नु पर्ने केही छैन । वहाँ अन्तराष्ट्रिय ख्याति प्राप्त महिला हुनु हुन्छ । धेरै महिलाको उद्धार गर्नु भएको छ । तर मैले राज्य संग संवाद गर्नु पर्दछ ।’

अर्को ट्वीटमा गिरी लेख्छिन्, ‘मैले जाने अनुसार वहाँ दार्जि्लिंग को हुनु हुन्छ र विवाह पछि नेपाली नागरिक हुनु भएको छ। म गलती पनि हुन सक्छु । तर यदि यो सत्य हो भने नागरिकता कानूनको सम्बन्धमा राज्यको द्वैध नीति पुनः प्रमाणित भएको छ ।’

माइती नेपालको आधिकारीक जानकारी भएको वेभसाइटम भने उनको जन्मस्थानबारे खुलाइएको छैन । १४ अप्रिल १९४९ मा कर्नेल प्रताप सिंह गुरुङ र लक्ष्मी गुरुङका कोखबाट अनुराधाको जन्म भएको भनिएको भएपनि जन्म स्थानबारे खुलाइएको छैन । उनको शिक्षा दिक्षा भने भारतमा भएको वेभसाइटमा जनाइएको छ ।

विकिपिडियामा भने सन् १९४८ अप्रिल १४ मा ओखलढुंगाको रुम्जाटारमा उनको जन्म भएको जनाइएको छ । विकिपिडिया आधिकारिक श्रोत भने होइन । 
पूर्व सांसद सरिता गिरीले भन कोइरालाले विवाहपछि नागरिकता लिएको ट्वीटमा उल्लेख गरेकी छिन् । कोइरालाको  काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । 

सवैधानिक व्यवस्था

संविधानको धार २८९ मा प्रदश प्रमुख वंशजको आधारमा नेपालको नागरिकता प्राप्त भएको व्यक्ति हुनुपर्ने स्पष्ट व्यवस्था छ । 

संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री र सुरक्षा निकायका प्रमुख नियुक्त हुनका लागि वंशजका आधारमा नेपालको नगरिकता भएको हुनुपर्ने व्यवस्था रहेको छ । अनुराधाका बुबा आमा नेपालकै भएका कारण उनले नेपालबाट वंशजको आधारमा नेपाली नगरिकता लिएको खण्डमा भने उनलाई प्रदेश प्रमुख बन्न अवरोध हुने छैन । तर विवाहपछि मात्र अंगिकृत नागरिकता लिएको खण्डमा भने उनी स्वत प्रदेश प्रमुख बन्नबाट वञ्चित हुनेछिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्