
काठमाडौं, ३ माघ- एमाले र माओवादी केन्द्रले राष्ट्रिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार भागबण्डा गरेका छन् । दुई दलद्वारा गठित ६ सदस्यीय कार्यदलले सिट बाँडफाँट टुंगो लगाएको हो ।
यसरी बाँडफाँट गर्दा ४३ सिट मात्र भाग लगाइएको छ । ५९ मध्ये बाँकी १३ कांग्रेसबाहेक अन्य दलका लागि छुट्याइएको छ । अन्य ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
कार्यदलले एमालेको भागमा २९ र माओवादीको भागमा १४ सिट छुट्याएको छ ।
कार्यदलले ४३ सिटमा दुई दलले साझा उम्मेदवारी दिने र १३ सिटमा साना दलसँग सहमति गर्ने गरी प्रतिवेदन तयार पारिएको कार्यदल सदस्य एवम् एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।
प्रतिवेदन शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिमा पेश गरिने छ ।
राष्ट्रियसभा निर्वाचन यही माघ २४ गते हुँदैछ ।