
काठमाडौं, ४ माघ– शीतकालीन ओलम्पिकमा दुई कोरिया (उत्तर र दक्षिण) ले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । दुई देशका महिला आइस हकी टिमले साझा झण्डा लिएर मार्च गर्ने छन् ।
दुई कोरियाबीच दुई वर्षभन्दा बढी समयपछि भएको उच्चस्तरीय वार्तामा यस्तो सहमति भएको हो । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर(शीतकालीन)ओलम्पिकमा एकीकृत कोरियाको झण्डा लिएर दुवै कोरियाका खेलाडीले मार्च गर्ने सहमति बनेको हो ।
यसको सुरुवात उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा आफ्नो देश दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा खेलाडी पठाउन तयार रहेको बताएपछि सुरु भएको थियो । त्यसपछि दक्षिण कोरियाले उच्च स्तरीय वार्ताको प्रस्ताव गरेको थियो ।
त्यहि प्रस्ताव अनुसार जनवरी ९ मा दुई कोरियाका उच्च नेताबिच वार्ता भएको थियो । त्यसपछि ओलम्पिकमा सहभागिता र त्यसको व्यवस्थापनका बारेमा छलफल हुने क्रममा साझा झण्डामा मार्च गर्ने सहमति बनेको हो ।