
काठमाडौँ, ४ माघ - राष्ट्रिय परिचयपत्रमा राखिने ‘सेक्युरेटी फिचर’ (सुरक्षण चिह्न) बारे सरकारले निर्णय गरेसँगै राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया अगाडि बढेको छ ।
मन्त्रिपरिषद् बैठकले गत पुस १३ गते उक्त ‘सेक्युरेटी फिचर’ बारे निर्णय गरेको थियो । कसैले नक्कल (कपी) गर्न नसकोस् भनेर राष्ट्रिय परिचयपत्रमा ‘देख्न सकिने’ र ‘देख्न नसकिने’ (सिन र अनसिन) सुरक्षण चिह्न राख्नुपर्छ |
गत मङ्सिर ११ गतेको गृह मन्त्री स्तरीय बैठकले सुरक्षण चिह्नबारे अन्तिम निर्णय गर्न मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको थियो । ‘सेक्युरेटी फिचर’ बारे सरकारले निर्णय नगर्दा केही समयदेखि परिचयपत्र वितरण प्रक्रिया अबरुद्ध भएको थियो ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी खुमकान्त आचार्यले सरकारले सुरक्षण चिन्हबारे निर्णय गरेसँगै राष्ट्रिय परिचयपत्र वितरण प्रक्रियाले गति लिएको बताउँदै केन्द्रले कार्ड छाप्ने जिम्मेवारी पाएका कम्पनीलाई कार्ड छाप्ने जिम्मेवारी दिइसकिएको जानकारी दिए ।
मन्त्रिपरिषद्ले निर्णय गरेका सुरक्षण चिह्नसहित कम्पनीले कार्ड छाप्ने छन् । कार्ड छाप्ने जिम्मेवारी फ्रान्सको मोर्फो कम्पनीले पाएको छ । सुरक्षण चिह्न जे पनि हुन सक्छ, सोबारे राज्यको उच्च स्तरीय निकाय र अधिकारीबाहेक अरू कसैलाई थाहा हुँदैन, गोरखापत्रमा खबर छ ।