लोकान्तर संवाददाता
पाल्पा, १२ माघ –नेपालमा कुखुराको भालेको पनि बन्ध्याकरण हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर यो सत्य घटना हो ।

घटना हो, पाल्पा जिल्लाको । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् ।
कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो । भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ ।
कुखुरापालन गर्ने पन्तले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने बताए ।
पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भएपनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको उनी बताउँछन् ।
पन्तको पशुपन्छीसम्बन्धी औपचारिक अध्ययन नभए पनि दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिई कुखुराको परिवार नियोजन गर्न थालेको बताए ।
सुरुसुरुमा केही कुखुरा मरेपनि अहिले कुखुराको शल्यक्रिया सफल भएको उनको दावी छ ।
कुखुरा शल्यक्रियापछि चिल्लो हँुदै जाने र यौन क्षमता कमजोर हँुदै जाने उनको दाबी छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ ।
ब्रोइलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैनन् । पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको उनको भनाइ छ ।
नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउँछन् ।
तर पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि अहिले कुखुरामा भने नौलो मानिएको हो ।
पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन् । अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरूको भनाई छ ।