
काठमाडौं, ८ माघ– दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीले दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको झन्डै ३ करोड रुपैयाँ हिनामिना गरेका छन् । यो रकम १० वर्षदेखि थुप्रिँदै आएको हो ।
स्रोतका अनुसार डीडीसी व्यवस्थापनले कर्मचारीबाट हिनामिना भएको यो रकम उठाउन सकेको छैन । कर्मचारीहरूले दूध र संस्थानका अन्य उत्पादन बिक्री गरे पनि संकलित रकम कार्यालयमा दाखिल नगर्ने गर्दा ठूलो रकम बक्यौता रहन गएको हो ।
योलगायत अनियमितताका कारण संस्थानको सञ्चित नोक्सानी हाल २१ करोड रुपैयाँ पुगेको छ । डीडीसीको आन्तरिक लेखा परीक्षणले आैंल्याएको ३ करोड रुपैयाँ बक्यौता उठाउन सञ्चालक समितिले कात्तिक २७ गते डीडीसीको व्यवस्थापनलाई ताकेता गरेको थियो ।
त्यसबेला डीडीसीका महाप्रबन्धकलाई ४५ दिनभित्र एकमुष्ठ रकम असुलउपर गर्न नसके विभागीय कारबाही गर्नु भनिएको थियो ।
निमित्त महाप्रबन्धक ईश्वरीप्रसाद अधिकारीले नेता कर्मचारीबाट भएको हिनामिना रकम नै उठाउन सकेनन् । त्यसपछि पुनः पुस २४ गते सञ्चालक समितिका अध्यक्ष रघुनाथ गौतमले १५ दिनको भाका राखेर व्यवस्थापनलाई पत्र लेखे । सञ्चालक समितिले दिएको म्याद सोमबार सकिँदै छ ।
स्रोतका अनुसार पछिल्लो हदम्यादमा पनि निमित्त महाप्रबन्धकले हिनामिना भएको रकम उठाउन सकेका छैनन् ।
डीडीसीको आर्थिक नियमावलीले हिनामिना रकम एकमुष्ठ उठाउनुपर्ने भनेको छ, कान्तिपुरमा खबर छ ।