२५ असार २०८३, बिहीबार

'ऐरावती रंगुनसम्म आइपुग्छ' याङ्गोनमा मञ्चन

'ऐरावती रंगुनसम्म आइपुग्छ' याङ्गोनमा मञ्चन

याङ्गोन, (म्यान्मार) १० माघ- झण्डै २ शताब्दीदेखि म्यान्मारमा बसोबास गर्दै आएका अल्पसंख्यक नेपाली गोर्खाहरुको इतिहास समेटेर तयार पारिएको आधुनिक रंगमञ्चको पहिलो नेपाली नाटक 'ऐरावती रंगुनसम्म आइपुग्छ' आइतबार म्यान्मारको राजधानी याङ्गोनमा मञ्चन गरियो ।

नेपालबाट आएका निर्देशक युवराज घिमिरेले म्यान्मारका विभिन्न शहरबाट आएका १२ जना नेपाली मूलका युवालाई अभिनय प्रशिक्षण दिएर नाटक मञ्चनका लागि तयार पारेका थिए ।

उक्त नाटकमा म्यान्मारको ऐरावती नदी किनारमा आफ्नो पहिचानका लागि संघर्षरत अल्पसंख्यक नेपाली र अन्य समुदायको जीवनशैलीलाई समेटिएको छ । एउटै नदीको किनारमा बसेर पनि फरक-फरक समुदायबीच रहेको डर र पर्खाललाई चित्रित गर्न सफल नाटकले जात, धर्म र लिङ्गको अन्धविश्वासलाई व्यङ्ग गर्दै प्रेम र सद्भावको बाटो देखाएको छ ।

नाटक प्रदर्शनपछि राखिएको अन्तक्रिया कार्यक्रममा म्यान्मारस्थित नेपाली राजदूत भीम उदासले भावुक हुँदै नाटक निर्देशक र कलाकारहरुको प्रसंसा गरे ।

सो अवसरमा म्यन्मा देशीय गोर्खा हिन्दू धार्मिक संघका उपाध्यक्ष दीपक अधिकारीले नेपाल र म्यन्मारबीच कला र साहित्यको सहकार्य भविष्यमा अझै विस्तारको वातावरण मिलाउने वचन दिएका थिए ।

नाटकका बारेमा म्यान्मारका प्रसिद्ध भाषासेवी ठाकुरप्रसाद गुरागाईँ र चर्चित युवा कवि लक्ष्मण न्यौपानेले भनि मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा निर्देशक घिमिरेलाई विश्व नेपाली साहित्य महासंघ म्यन्मार शाखाले 'ऐरावती रङ्गमञ्च पुरस्कार- २०७४' प्रदान गरेको थियो । साथै दर्शकको मन जित्न सफल सबै कलाकारको प्रसंशा गर्दै अखिल म्यन्मा देशी गोर्खा हिन्दू धार्मिक संघले प्रमाणपत्र प्रदान गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्