०४ साउन २०८३, सोमबार

सशस्त्र सङ्घर्षका घाइतेसँग प्रमको ६३औँ जन्मदिन

कात्तिक २०, २०७४
सशस्त्र सङ्घर्षका घाइतेसँग प्रमको ६३औँ जन्मदिन

 

(रमेश लम्साल)

काठमाडौँ, २६ मङ्सिर । “तपाईंँलाई जन्मदिनको शुभकामना छ प्रधानमन्त्रीज्यू, संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनुहोस्, तपाईंको साथमा हामी छौँ”, प्रधानमन्त्री निवास बालुवाटारमा एकाबिहानै कालीकोटका सर्जन विकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुभकामना दिनुभयो ।

घाइते शरीर घिसार्दै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका विकलाई देख्नेबित्तिकै प्रधानमन्त्रीले सोध्नुभयो, “सर्जन कमरेड कस्तो छ अवस्था ?” प्रधानमन्त्रीको प्रश्नलगत्तै कम्मरमुनिको भाग नचल्ने विकले भन्नुभयो, ‘‘जनयुद्धका घाइतेले हालसम्म राहत पाएका छैनन् । त्यसमा पहल गरिदिनुप¥यो । मुख्य विषय मुलुकलाई निकास दिने भएकाले त्यसमा लाग्नुहुन मेरो विशेष अनुरोध छ ।”

प्रधानमन्त्री दाहालको जन्म २०११ साल मङ्सिर २६ कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । उहाँ मुक्तिराम र आमा भवानी दाहालका जेठा छोरा हुनहुन्छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहाल व्यवस्थापिका–संसद्बाट गत साउन १९ गते तीन सय ६३ सदस्यको बहुमतप्राप्त गरी नेपालको ३९औँ प्रधानमन्त्री हुनुभएको हो । यो उहाँको दोस्रो कार्यकाल हो

विक २०६२ साल फाुगुनमा बुटवलमा भएको भिडन्तमा परेर घाइते हुनुभएको थियो । उहाँको शरीरको आधाभन्दा बढी भाग चल्दैन । घाइते योद्धालाई भेटेर प्रधानमन्त्री एक छिन भावुक हुनुभयो र जन्मदिनको शुभकामना दिएकामा बधाई ज्ञापन गर्दै घाइते, बेपत्ता योद्धा र सहिद नै आफ्नो प्रेरणाको स्रोत भएको बताउनुभयो । “प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन बालुवाटार गएका थियौँ, उहाँ मुलुकको समस्या समाधान गर्न चिन्तित रहेको पायौँ”, घाइते विकले भन्नुभयो, “त्यसका अलावा आफ्ना मागका बारेमा समेत जानकारी गरायौँ ।”

विकको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यसमध्ये अधिकांश ‘जनयुद्ध’का घाइते हुनुहुन्थ्यो । ‘‘प्रधानमन्त्रीले आजको दैनिकी जनयुद्धका घाइतेलाई भेटेर सुरु गर्नुभयो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भन्नुभयो ।

“पार्टीको सम्पत्ति भनेकै घाइते, बेपत्ता र सहिद परिवार नै हुन्, पार्टीलाई सुखदुःखमा साथ दिने योद्धा पनि तपाईं नै हो भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो । जन्मदिनको शुभकामना दिएकामा विक लगायत नेता तथा कार्यकर्तालाई बधाई पनि दिनुभयो”, प्रेस सल्लाहकार आचार्यले भन्नुभयो ।

जन्मदिनको शुभकामना दिने अधिकांश कार्यकर्ताले संविधानको सफल कार्यान्वयन गर्न, मुलुकलाई समाधान दिन र स्थानीय निकायको निर्वाचनमा ध्यान दिन आग्रह गरेका थिए । त्यसका अलावा ‘जनयुद्ध’का घाइते, बेपत्ता र सहिद परिवारलाई उचित राहत दिनसमेत कार्यकर्ताले आग्रह गरेका थिए ।

सरकारले सशस्त्र सङ्घर्षका क्रममा ज्यान गुमाएका सहिद र बेपत्ता परिवारलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर दिने प्रक्रिया सुरु गरेको छ । प्रधानमन्त्रीले माथिल्लो तामाकोसी आयोजनाको स्थलगत निरीक्षणका क्रममा समेत सो धारणा सार्वजनिक गर्नुभएको थियो ।

यस्तै प्रधानमन्त्री दाहालका ‘राजनीतिक गुरु’ मोहन वैद्यले पनि प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिनुभयो । प्रधानमन्त्री दाहाललाई भेटन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष वैद्यले मुलुकलाई समाधान दिनसमेत आग्रह गर्नुभएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्