
काठमाडौं, ११ माघ–ज्येष्ठ नागरिकहरुले ६५ वर्ष उमेर पुगेपछि वृद्धभत्ता दिने सरकारको निर्णयले ६५ बर्ष नाघेका बृद्धहरु खुसी देखिएका छन् । ६५ वर्षकै उमेरमा वृद्धभत्ता दिने सरकारको निर्णय स्वागतयोग्य भए पनि सन्तोषजनक नभएको उनीहरुको प्रतिक्रिया छ ।
यसअघि ७० वर्ष उमेर पुगेपछि मात्रै वितरण हुँदै आएकोमा बुधबारको मन्त्रिपरिषद् बैठकले उमेर हद घटाएर ६५ वर्षकै उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको थियो ।
वृद्धवृद्धाहरुको संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष रामनगिना सिंहले सरकारको निर्णय स्वागत योग्य भए पनि पूर्ण रुपमा सन्तोषजनक भने नभएको प्रतिक्रिया दिए ।
‘सरकारले ज्येष्ठ नागरिकको उमेर हद ५ वर्ष घटाएर राम्रो काम गरेको छ । यसलाई स्वागत योग्य नै भन्नुपर्छ, तर हामी पूर्ण रुपमा सन्तुष्ट भने छैनौं,’ महासंघका अध्यक्ष सिंहले लोकान्तरसँग भने, ‘६० वर्ष पुगेकालाई बृद्धभत्ता दिनुपर्छ ।’ अध्यक्ष सिंहले नेपालको संविधान र मन्त्रिपरिषद्को निर्णय नै बेमेल भएको टिप्पणी गरे ।
‘संविधानमा रहेको ज्येष्ठ नागरीक सम्बन्धी ऐनले नै ६० वर्षको उमेरपछिका नागरिकलाई ज्येष्ठ नागरिक भनेको छ । तर वृद्धभत्ता भने ६५ वर्षको उमेर पुगेपछि मात्रै दिने निर्णय ग¥यो । सरकार आफैले घोषणा गरेअनुरुपको कार्य भने गरेन,’ सिंहले असन्तुष्टि जनाए ।
राज्यकोषमा भार थपिने बिषय बृद्धबृद्धाको सरोकार नभएको उनको प्रतिक्रिया छ । ‘देशमा सुशासन कायम भए, बृद्धबृद्धालाई दिने रकम ठूलो होइन,’ उनले भने ।
सरकारले ५ वर्ष भनेपनि उमेर हद घटाएकोमा भने उनले खुसी व्यक्त गरे । महासंघका उपाध्यक्ष छत्र प्रधानले पनि सरकारको निर्णप्रति आफूहरु सकरात्मक भएको बताए ।
‘सरकारको निर्णयमा हामीले खुसी मनाउनु पर्छ । यो उत्साहजनक कुरा हो,’ प्रधानले लोकान्तरसँग भने, ‘२०५१ सालमा ७७ वर्षमा दिँदै आएको वृद्धभत्ता अहिले ६५ वर्षमै दिने निर्णयले वृद्धवृद्धालाई थप सहज हुन्छ । तर हाम्रो माग संविधान अनुसार ६० वर्षमै पाउँनुपर्छ भन्ने हो ।’
२०५१ सालमा मनमोहन अधिकारीको सरकारले ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई सय रुपैयाँ भत्ता दिएर यसको शुरुवात गरेको थियो । सरकारले बृद्धभत्ताबापत मासिक दुई हजार रुपैंया उपलब्ध गराउँदै आएको छ ।
मनमोहन सरकारमा अर्थमन्त्री रहेका एमालेका नेता भरतमोहन अधिकारी ६५ बर्ष पुगेका बृद्धलाई भत्ता दिने निर्णय सही भएपनि समय र तरिका गलत भएको बताउँछन् ।
‘मैले २०५१ सालमा शुरु गरेको कामलाई देउवा सरकारले निरन्तरता दिएकोमा खुसी लागेको छ । त्यो बेला मलाई कनिका छरेजस्तो पैसा बाँढ्ने भनेर आरोप लगाउनेहरुले नै यसरी बृद्धभत्ताको उमेर हद घटाउने निर्णय गरे म हर्षित छु’ अधिकारीले भने, ‘तर यस्तो दूरगामी निर्णय कामचलाउ सरकारले गर्ने बिषय थिएन । ताजा जनादेश प्राप्त गरेको नयाँ सरकारलाई मात्र यस्तो निर्णय गर्ने अधिकार छ ।’