
पोखरा, १८ माघ - यही माघ २२ गते बस्ने प्रदेश नं ४ को प्रदेशसभाको पहिलो बैठकलाई लक्ष्य गर्दै नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई व्यवस्थित गर्ने काम भइरहेको छ ।
वर्गाकार स्वरुपमा रहेको सभाकक्षमा प्रदेशसभाका ६० सांसदका साथै पत्रकार तथा दलका प्रतिनिधि र अन्य विशिष्ट व्यक्ति बस्ने लगायत संरचना निर्माण शहरी विकास डिभिजन कार्यालयमार्फत अघि बढाइएको छ । काठमाडौँबाट आएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकी नेतृत्वको टोलीको निर्देशनमा बैठक कक्ष निर्माण अघि बढिरहेको छ ।
डिभिजन कार्यालयका प्रमुख किशोरलाल माजुका अनुसार सभाकक्षका साथै नजिकै रहेको भवनमा सभामुख र उपसभामुखको सचिवालयसहितका संरचना निर्माण गर्न लागिएको छ । प्रशिक्षण केन्द्रको सभाकक्ष प्रदेशसभाको बैठकका लागि पर्याप्त देखिएको संसद् सचिवालयका सहसचिव बुढाथोकीले बताउनुभयो ।
“प्रदेशसभाका ६० सदस्यका लागि बैठक गर्न सभाकक्ष पर्याप्त भए पनि त्यहाँ पत्रकार तथा विशिष्ट व्यक्ति एवम् दलका प्रतिनिधिलाई बस्ने व्यवस्था गर्नुपर्छ,”, उहाँले भन्नुभयो, “सकेसम्म एक दुई जना भए पनि बढी पत्रकार एवम् अन्य व्यक्ति राख्न सकिन्छ कि भन्ने सोचका साथ सिट संख्या बढाउने सोच राखेका छौंँ ।”
प्रदेश नं ४ मा प्रमुख दल नेकपा (एमाले)का प्रदेशसभा सदस्य २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एक जना छन् । प्रदेश नं ४ मा ५९ प्रदेशसभा सदस्यले शपथ लिइसके पनि स्वतन्त्रतर्फबाट विजयी मनाङ १ (ख) का सदस्य राजीव गुरुङले भने लिनुभएको छैन ।