
काठमाडौं, २१ माघ — स्पेन र फ्रान्सबीचको फेन्सेस नामक टापुलाई दुवै देशले ६–६ महीनाका लागि लिने गरेका छन् ।
अहिले ६ महीनाका लागि यो टापु स्पेनसँग छ । अनि ६ महीनापछि स्पेनले यो क्षेत्र फ्रान्सलाई दिन्छ ।
यो परम्परा विगत ३५० वर्षदेखि चलिरहेको छ ।
टापु फ्रान्स र स्पेनको सीमा छुट्ट्याउने बिदासोआ नदीमा रहेको छ ।
फ्रान्सको सीमास्थित शहर हेन्डेई हो । त्यसैको पारिपट्टि एउटा ठूलो नहरपछि स्पेनको इरुन शहर आउँछ । यी दुई शहरलाई बिदासोआ नदीले छुट््ट्याउने हो ।
फेन्सेस टापु चाहिँ नदीको बीचमा छ । यो कृत्रिम टापु निर्जन छ र दुवै देशका सीमाको बीचमा भएकाले यसलाई तटस्थ भूमि मानिन्छ ।
टापुको ऐतिहासिक महत्त्व छ । सन् १६५९ मा फ्रान्स र स्पेनबीचको लडाईं अन्त्य गर्ने संवाद यही टापुमा भएको थियो ।
संवादकै क्रममा शान्ति सम्झौता गरियो जसलाई पाइनीस सन्धि भनिन्छ । यो सन्धि शाही विवाहका साथ सम्पन्न भएको थियो जसमा फ्रान्सका राजा लुई १४औं र स्पेनका राजा फिलिपकी छोरीको विवाह भएको थियो ।
त्यसपछि दुवै देशले यो टापु मिलेर लिने सहमति गरे । टापु १ फेब्रुअरी देखि ३१ जुलाईसम्म स्पेनको हुन्छ भने बाँकी ६ महीना फ्रान्सको अधीनमा हुन्छ ।
टापुलाई पुरातात्त्विक महत्त्वको क्षेत्रका रूपमा केही खास अवसरमा मात्र खोलिन्छ ।
पानीको बहाव र सुरक्षामा लापरवाहीका कारण कैयौं शताब्दीदेखि टापुको लगभग आधी भाग चोइटिइसकेको छ । टापुको आकार घटिरहेको छ ।
त्यहाँ नदीको पानी घट्ने बढ्ने गरिरहन्छ । पानीको स्तर घट्दा त पैदलै हिँडेर दुई देशको यात्रा गर्न सकिन्छ ।
एजेन्सी