
पोखरा, २१ माघ - मुलुकको सुन्दर पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ प्रदेशसभा बैठकको आज ११ मिनेट पूर्वाभ्यास सम्पन्न गरियो ।
नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा प्रदेशसभाको पूर्वाभ्यास बैठक दिउँसो ४ः२९ बजेदेखि ४ः४० बजेसम्म चल्यो ।
भोलि सोमबार विहान ११ बजे प्रदेशसभाको पहिलो अधिवेशन बस्दैछ । यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसदहरू छन् ।
ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा आयोजित अभ्यासमा ५६ जना प्रदेशसभा सदस्य उपस्थित थिए । सङ्घीय व्यवस्थापिका–संसद्कै झझल्को दिँदै कतिपय सांसद पूर्वाभ्यासमै पनि राष्ट्रियगान शुरु भइसकेपछि सभाकक्षमा प्रवेश गरेको देखिन्थ्यो । यसअघि व्यवस्थापिका–संसद्मा संसदीय अभ्यासको जानकारी प्राप्त गरेका छजना सांसदले यस प्रदेशसभामा प्रतिनिधित्व गरेका छन् ।
रातारात गरी तयार गरिएको प्रदेश नं ४ को बैठक हुबहु संघीय संसद्को ढाँचाको रहेको छ । प्रदेशसभाका गतिविधि र कार्यसञ्चालनमा एकरुपता दिलाउन बैठक कक्षमा निलो कुर्सी, निलो कार्पेटले सजाइएको थियो ।
बैठक कक्षका अधिकांश फर्निचर स्थानीय तहमा नै व्यवस्थापन गरिए भने सभामुख बस्ने कुर्सी भने काठमाडौँबाटै मगाइएको संघीय संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
प्रदेशसभा सदस्यमध्ये कसैले यो अभ्यासलाई संविधानसभाबाट जारी भएको संविधान, संघीय लोकतान्त्रिकजस्ता विषयको कार्यान्वयनको महत्वपूर्ण खुड्किलोको रुपमा रहेको प्रतिक्रिया दिएका थिए ।
प्रदेशसभा सदस्य आशा कोइरालाले आफूले व्यवस्थापिका–संसद्को लामो समयसम्मको अनुभव बटुलेकाले थोरै सदस्य सङ्ख्या र कार्यक्रम सञ्चालनको ढाँचाले हेर्दा अलि फरक महसुस भएको टिप्पणी गरिन् ।
प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले समय र परिस्थितिअनुरुप प्रदेशसभाका बैठकलाई चुस्त र व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए । अर्का सदस्य रोशन गाहामगरले संघीय संरचनाअनुसार प्रदेशसभाले नयाँ विकासको फड्को मार्ने कार्यक्रम ल्याउन भूमिका खेल्ने बताए ।
प्रदेशसभा सदस्य जुनादेवी नेपालीले आजको पूर्वाभ्यास सामान्यतः सबै सदस्यले सहज महसुस गरेको बताउँदै आगामी बैठक सहजताका साथ अघि बढ्ने देखिएको उल्लेख बताइन् ।
मुस्ताङका सांसद इन्द्रधारा विष्टले आजको अभ्यासलाई आफूले अनौठो अनुभूति गरेको बताए ।
संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले प्रदेश नं ४ को प्रदेशसभाको सोमबार बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
बैठकको मूलकक्षमा सभामुखसहितको रोस्ट्रमका अतिरिक्त प्रदेशसभा सदस्यका लागि ६६ वटा कुर्सी र केन्द्रीय संसद्कै ढाँचाका ३५ वटा माइक जडान भएका टेबुल राखिएको छ ।
मुलकक्षको पछिल्लो भागलाई पारदर्शी सिसाले छुट्याइएको उपकक्षमा विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी र दर्शकका लागि व्यवस्था गरिएको छ । आजको पूर्वाभ्यास सोचिए भन्दा निकै सफल रहेको जानकारी दिँदै प्रवक्ता गौतमले संविधानले जुनजुन मितिमा जेजे गर्नुपर्छ भनेको छ त्यो सम्पूर्ण काम सफल बन्दै आएको बताए ।
उनका अनुसार सोमबार विहान १०ः५५ मा बैठकका लागि जनाउ घण्टी बज्नेछ । रासस