०३ असार २०८३, बुधबार

घुम्ती शिविरकाे फाइदा- घरदैलोमै नागरिकता

घुम्ती शिविरकाे फाइदा- घरदैलोमै नागरिकता

खोटाङ, २३ माघ- जिल्लाका दुई गाउँपालिकाका एक हजार ५०० भन्दाबढीले आफ्नै घरदैलोमा नेपाली नागरिकता प्राप्त गरेका छन् । 

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जिल्लाका दक्षिणी क्षेत्रका विकट गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरिएको घुम्ती शिविरबाट बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाभित्रका एक हजार ५१६ जनाले नागरिकता पाएका हुन् । 

गत शनिबारदेखि शुरु भएको घुम्ती शिविरबाट जन्तेढुंगा गाउँपालिकामा ७२७ र बराहपोखरी गाउँपालिकामा ७८९ जनालाई नागरिकता प्रदान गरिएको शिविर संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभयो । 

सुवेदीका अनुसार शिविरमा नागरिकता पाएका तर विभिन्न कारणले अपांगता परिचयपत्र नपाएका जन्तेढुंगा गाउँपालिकामा १४१ र बराहपोखरी गाउँपालिकामा ११७ जना गरी २५८ जनालाई अपांगताको परिचयपत्र प्रदान गरिएको छ । 

शिविरमा दुई गाउँपालिकाका ५७३ जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको जनाइएको छ । जन्तेढुंगा गाउँपालिकामा २६९ र बराहपोखरी गाउँपालिकाका ३०४ जनाले वैदेशिक रोजगारसम्बन्धी परामर्श लिएका हुन् । 

आफ्नै घरआँगनमा सुविधा पाउँदा स्थानीयवासी हर्षित भएको बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जाराले बताउनुभयो । नागरिकतालगायतका सेवा पाउनेमा युवादेखि वृद्धवृद्धासमेत रहेका थिए । 

सुवेदी संयोजक रहेको शिविरमा महिला तथा बालबालिका कार्यालय प्रमुख भुवन राई, शाखा अधिकृत बाबुराम खत्रीलगायतको टोली रहेको थियो । जिल्लाका अन्य ठाउँमा पनि तत्कालै एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्