२६ असार २०८३, शुक्रबार

सुर्खेतमा राष्ट्रियसभा चुनावको रौनक, मतदाताहरु वीरेन्द्रनगरमा

माघ २३, २०७४
सुर्खेतमा राष्ट्रियसभा चुनावको रौनक, मतदाताहरु वीरेन्द्रनगरमा

सुर्खेत, २३ माघ- प्रदेश नम्बर ६ को राजधानी सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रियसभा निर्वाचनको चुनावी रौनक बढेको छ । बुधबार हुने निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष एवम् प्रमुख/उपप्रमुख वीरेन्द्रनगर आइपुगेका छन् । प्रदेश ६ मा राष्ट्रियसभाका लागि कुल १९८ मतदाता छन् ।

चन्दननाथ नगरपालिका जुम्लाकी प्रमुख कान्तिका सेजुवाल राष्ट्रियसभा निर्वाचनमा मताधिकार प्रयोग गर्ने अवसर प्राप्त हुन लागेकोमा खुशी छन् ।

‘मताधिकार प्रयोग गर्ने अवसर पाइने भएकाले एकदमै खुशी छु,’ उनले लोकान्तरसँग भनिन् । प्रदेश नम्बर ६ अन्य प्रदेशभन्दा गरीब रहेकाले संघीयतालाई धान्न नसक्ने हो कि भन्ने चिन्ता उनलाई छ । ‘संघीयतामा गयौं, तर यसलाई टिकाउन आवश्यक स्रोत र साधनको अभाव नहुने गरी नीति निर्माण गर्न सबै जनप्रतिनिधिलाई आग्रह गर्दछु,’ उनले भनिन् ।

आठबीस नगरपालिका दैलेखबाट चुनावमा सहभागी हुन आएका नगरप्रमुख खड्गराज उपाध्यायले चुनावमा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताए । उनले भने, ‘माथिल्लो जनप्रतिनिधि छान्न पाउँदा हामीलाई असाध्यै खुशी लागेको छ, यो चुनाव चाँडो भएको भए हामीलाई काम गर्न सहज हुने थियो ।’

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले देश संघीय संरचनामा गइसकेपछि वीरेन्द्रनगरमा हुन लागेको राष्ट्रियसभाको ऐतिहासिक चुनावले अलग्गै रौनकता र राजधानीको नगर भएकाले थप जिम्मेवारी थपिएको महसुस भएको प्रतिक्रिया दिए ।

यो चुनाव र प्रदेश राजधानीले आफूहरुमाथि चुनौती खडा गरेको उनले बताए ।

‘वीरेन्द्रनगरमा बाटोघाटो फराकिलो बनाउने, खानेपानीको सहजता, पर्यावरण संरक्षणजस्ता चूनौतिहरु थपिएका छन्, सबैसँग सहकार्य गरेर अघि बढछौं,’ उनले भने ।

कालिकोटको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले आफूले यसअघि पनि राष्ट्रियसभाका लागि मतदान गरिसकेको बताए । तर यो नयाँ संघीय संरचनाअनुरूप एकल संक्रमणीय चुनावले केही अलमलमा भने पारेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्