
सुर्खेत, २३ माघ-नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले जनताका सपना पूरा गर्न एमाले र माओवादीबीच एकता हुन लागेको बताएका छन् ।
वीरेन्द्रनगरमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले दुई पार्टीबीच एकता घोषणा केही दिनमै हुने बताए । ‘औपचारिकरुपमा घोषणा गर्न मात्र बाँकी छ,’ उनले भने, ‘केही दिनमै दुवै अध्यक्षहरुले औपचारिक रुपमा जानकारी दिनेछन् ।’ उनले एकतामा बाहिर हल्ला भएजस्तो कुनै समस्या नरहेको जिकिरसमेत गरे ।
साथै शर्माले माओवादीले प्रदेश ६ को मुख्यमन्त्रीको टुंगो छिट्टै लगाउने जानकारी पनि दिए । बिहीबारभित्र माओवादीले मुख्यमन्त्रीको टुंगो लगाउने उनको भनाइ छ ।
उनले प्रदेश ६ लाई १० वर्षभित्र नेपालकै सबैभन्दा विकसित र आत्मनिर्भर प्रदेश बनाउन सकिने जिकिर पनि गरे । ‘हामीसँग सुनका डल्ला छन्, मात्र कालिगढको आवश्यकता थियो, चाहे अनुसारको डिजाइन गरेर पहिरन सकिएको थिएन,’ उनले भने, ‘अब प्रदेश सरकार बन्दैछ, ती कालिगढले जनताले चाहेजसरी प्रदेशमा भएको सुन प्रयोग गर्नेछन् र प्रदेशलाई समृद्ध बनाउने छन् ।’
शर्मा रुकुमपश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।