
काठमाडौं २३ माघ- नेपाल टेलिकमले आफ्नो स्थापनाको १४ औं बार्षिकोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपाल टेलिकम देशकै पुरानो र ऐतिहासिक कम्पनी भएकाले देशका विभिन्न स्थानमा शिक्षा र स्वास्थ्य जस्ता नेपाली जनताको सरोकारका क्षेत्रमा समेत सहयोग गर्दै अगाडि बढिरहेको बताए । उनले नेपाल टेलिकम सेवामूलक र नाफामूलक दुवै ढंगबाट अगाडि बढ्नु पर्ने बाध्यता भए पनि कम्पनीले ग्राहक गुनासो नआउने गरी गुणात्मक सेवामा ध्यान दिनु पर्ने बताए । कम्पनीले फोरजी सेवा विस्तार र फाइबरमार्फत सेवा प्रदान गर्ने कार्य अगाडि बढाइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्न सक्षम हुने विश्वास ब्यक्त गरे ।
सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले नेपालकै पहिलो दूरसञ्चार सेवाप्रदायक संस्थाको रुपमा परिचित नेपाल टेलिकमले अन्य देशमा भन्दा सस्तो दरमा सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी ब्यक्त गर्दै कम्पनीमा कार्यरत दक्ष जनशक्तिका कारण नै यो सम्भव भएको बताए । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव प्रेम कुमार श्रेष्ठले कम्पनीमा रुपान्तरण भए पश्चात नेपाल टेलिकम थप जिम्मेवार र पारदर्शी भएको बताउदै सरकारी कम्पनी भएकोले विभिन्न ऐन, कानुनका कारण निर्णय प्रक्रियामा ढिलाई हुने भएतापनि कम्पनीले प्रतिस्पर्धात्मक रुपमा सेवा प्रदान गरिरहेको बताए । अक्षरका आधारमा शुल्क लिने आकाशवाणी सेवाबाट यात्रा प्रारम्भ गरेको कम्पनी हाल स्मार्टफोनमार्फत तीव्र गतिको डाटा उपलब्ध गराउनु पर्ने समयमा आइपुगेको बताउदै उहाँले सो यात्रामा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्राहकलाई प्रतिस्पर्धि मूल्यमा गुणस्तरीय सेवा प्राप्त होस् भन्ने प्राधिकरणको मूख्य उद्देश्य प्राप्तिमा टेलिकमले सहयोग पु¥याएको बताउदै केही समयमै नेपाल टेलिकम फोरजीमार्फत देशभर सेवा प्रदान गर्न सक्षम हुने विश्वास ब्यक्त गरे ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको समग्र अवस्था वारेमा जानकारी गराउदै वार्षिकोत्सवको अवसरमा सेवाग्राहीहरुका लागि विभिन्न प्याकेज तथा छुटको घोषणा गरिन् । उहाँले कम्पनीको प्रगतिमा सहयोग पुग्ने सकारात्मक सुझावलाई ग्रहण गर्दै ग्राहक सेवालाई मूल मन्त्र मानेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरिन् ।