
काठमाडौं, २५ माघ– जर्मनीमा चान्सलर एञ्गेला मर्केलको कन्जरभेटिभ सीडीयूरसीएसयू पार्टी र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स (एसपीडी) पार्टी बीच गठबन्धन सरकार गठन गर्ने सहमति भएको छ । निर्वाचन भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि नयाँ सरकार गठन हुन सकेको थिएन ।
यो सहमतिपछि गत सेप्टेम्बरमा भएको आमनिर्वाचनमा कन्जरभेटिभ सीडीयू÷सीएसयू पार्टीले पराजय बेहोरेपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य भएको छ । अब सहमति भएसँगै केही दिनमै जर्मनीमा नयाँ गठबन्धन सरकार बन्न सक्ने भएको छ ।
दुई पार्टीबीच गठबन्धन सरकार गठन गर्ने सहमति भएसँगै महत्वपूर्ण मन्त्रालय बाँडफाँडको गृहकार्य शुरु भएको छ । एसपीडी पार्टीले अर्थ र विदेश मामिलासहित ६ वटा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । जर्मनीका सञ्चारमाध्यमहरुले एसपीडीका नेता तथा युरोपेली संसद्का पूर्वअध्यक्षसमेत रहेका मार्टिन शुल्ट्जले विदेशमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको बताएका छन् ।