
काठमाडौं, २५ माघ - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन भइसकेको अवस्थामा राजीनामा दिने वा नयाँ प्रधानमन्त्रीलाई सिधै सत्ता हस्तान्तरण गर्ने विषयमा निकटस्थहरूसँग राय लिन थालेका छन्।
निर्वाचन सम्पन्न भएपछि मात्रै सरकारको कार्यभार पूरा हुने बताउँदै आएका देउवाले नयाँ सरकार गठनको बाटो खोल्ने विषयमा छलफल सुरु गरेका हुन्।
सत्ता हस्तान्तरण वा राजीनामाको विषयमा प्रधानमन्त्री चाँडै टुंगोमा पुग्ने उद्योगमन्त्रीसमेत रहेका कांग्रेस नेता मानबहादुर विश्वकर्मा बताउँछन्। केही दिनअगाडि मात्रै देउवाले राष्ट्रियसभा निर्वाचनलगत्तै राजीनामा दिने मनस्थितिमा रहेको बताएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।
पछिल्लो समय उनी आफूनिकट नेता तथा कानुनविद्सँग निरन्तर छलफलमा रहेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए। खाँणले भने, ‘उहाँ राजीनामाकै मुडमा हुनुहुन्छ तर अर्को विकल्प पनि उहाँसमक्ष पुगेको छ। त्यो भनेको निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिकहाँ पु¥याएपश्चात आफैंले प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने र नवनिर्वाचित प्रधानमन्त्रीलाई कुर्सी हस्तान्तर गरेर बिदा लिने’, उनले भने।