
सुर्खेत, २५ माघ– यसअघि केन्द्रीय संसदमा प्रतिनिधित्व गरिसकेका सात सांसद् यसपटक प्रदेश नम्बर ६ मा निर्वाचित भएका छन् । ‘गरिब प्रदेश’ का रुपमा लिइने ६ नम्बर प्रदेशलाई उत्कृष्ट र नम्बर एक प्रदेश बनाउने ‘अनुभवी’हरु दाबी गर्छन् ।
केन्द्रीय संसदका अनुभव भएका प्रदेससभा सदस्यहरुमा एमालेका प्रकाश ज्वाला, यामलाल कंडेल, अमर थापा, माओवादी केन्द्रका नरेश भण्डारी, महेन्द्रबहादुर शाही, सीता नेपाली र काँग्रेसका जीवनकुमार शाही रहेका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद तथा मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीले प्रदेशका नयाँ र पुराना सांसदहरु मिलेर संवृद्धि हासिल गर्ने तर्फ अघि बढ्नुपर्ने बताए ।
‘नयाँ आएका साथीहरु युवा हुनुहुन्छ, केहि गरौं भन्ने धारणा भएका साथीहरु हुनुहुन्छ ।’ उनले भने, ‘पुराना साथीहरुसँग संसदीय अभ्यासको अनुभव छ ।’ उक्त अनुभव र जाँगर मिलाउन सके प्रदेशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । ‘ती दुवै चीजलाई मिलाएर लैजाने हाम्रो अभिभारा हो । हामी प्रदेश निर्माणका लागि सबैसँग सहकार्य, हातेमालो गर्दै अघि बढ्नेछौं ।’
नेपाली कांग्रेसबाट प्रदेश सभामा प्रत्यक्ष तर्फ विजयी हुने एक मात्र सदस्य जीवनबहादुर शाहीले आफूहरुको अनुभव नयाँ सांसदहहरुलाई काम लाग्ने बताउँछन् ।
‘नयाँ सांसदहरु आइसकेपछि संसद सचिवालयले नयाँ सांसदहरुलाई प्रशिक्षणको व्यवस्था गर्छ ।’ यदि त्यसो भएन भने हामी आ–आफ्नो संसदीय दलमा नयाँ सांसदहरुलाई सिकाउने गर्छौं ।’ उनले नयाँ सांसदहरुलाई गाह्रो भने नहुने बताए । ‘संसदले अन्तरिम कार्यविधि पारित गरेको छ ।’ उनले भने, ‘हामी सबै सोही अनुरुप चल्ने भएकाले उहाँहरुले चाँडै सिक्नुहुनेमा म विश्वस्त छु ।’
नेकपा एमालेका सांसद अमरबहादुर थापाले नयाँ र पुराना सांसदहरु मिलेरै, अनुभव आदान प्रदान साटासाट गरेरै प्रदेश समृद्धिको यात्रामा अघि बढ्ने बताए । ‘हिजो संधिानसभामा म जाँदा मलाई केहि दिन असजिलो भएजस्तो लागेकै हो ।’ उनले भने, ‘प्रदेससभाका साथीहरुलाई हामी हाम्रा अनुभवहरु साँटेर सँगसंगै लैजान्छौं ।’ उनले आगामी १० वर्षमा प्रदेशलाई आत्मनिर्भर बनाउन र जनतालाई सकेसम्म बढी भन्दा बढी सेवा र सुविधा दिलाउन प्रदेशसभा लागिपर्ने बताए ।