
काठमाडौँ, २६ माघ- प्रतिनिधिसभा समानुपातिकतर्फको १ सय १० सिटमा कम्तीमा ८४ जना महिला निर्वाचित गर्नुपर्ने भएको छ ।
राष्ट्रिय सभा निर्वाचन परिणाम सार्वजनिक भएसँगै संवैधानिक प्रावधानअनुसार एक तिहाइ पुर्याउन समानुपातिकबाट चुन्नुपर्ने महिलाको संख्या यकिन भएको खबर कान्तिपुरमा छापिएको छ ।
तीन प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले मात्रै समानुपातिकबाट सिट पाउनेछन् ।
समानुपातिकबाट एमालेले पाउने ४१ सिटमा कम्तीमा ३७ महिला पठाउनुपर्नेछ । यस्तै, कांग्रेसले पाउने ४० सिटमा २०, माओवादीको १७ सिटमा १६, फोरमले पाउने ६ सिटमा ५ र राजपाले पाउने सबै ६ सिटमा महिलाको नाम बन्दसूचीबाट पठाउनुपर्नेछ ।
निर्वाचन आयोगले औपचारिक रूपमा अझै समानुपातिक परिणाम सार्वजनिक गरिनसकेकाले उक्त संख्यामा सामान्य हेरफेर हुन सक्छ ।
आयोगले संवैधानिक बाध्यताका कारण राष्ट्रिय सभा गठन कुर्दै समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेको छैन ।