
काठमाडौं, २६ माघ - ढिलोमा फागुन २ भित्रै प्रतिनिधिसभा र राष्ट्रियसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारीसँगै फागुन १० भित्रै देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ।
राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै प्रतिनिधिसभाको समानुपातिकतर्फ महिलाको ३३ प्रतिशत कोटा पुर्याएर ल्याउन आयोगले दलहरूलाई शुक्रबार पत्र पठाउने तयारी गरेको छ। राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको नतिजामा प्रत्येक दलले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने तर्क गर्दै आयोगले समानुपातिक नतिजा दुई महिनासम्म रोकेको थियो, अन्नपूर्ण पोस्टमा खबर छ।
‘अब हामी छिटोभन्दा छिटो राष्ट्रपतिज्यूलाई नतिजा बुझाउने तयारीमा छौं,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘ढिलोमा फागुन २ गतेसम्म राष्ट्रपतिसमक्ष नतिजा पेस गर्छौं।’ आयोगले आफ्नो कार्यविधि संशोधन गरी नतिजा सार्वजनिक गर्न छोटो विधि अवलम्बन गरेको यादवले बताए। दललाई महिलाको ३३ प्रतिशत कोटा पुर्याउन आयोगले तीन दिनको मात्र समय दिने भएको छ। यसअघि सात दिनको समय निर्धारण गरिएको थियो।
सबै दलले माघ २९ गते नै आयोगले तोकेअनुसार महिलाको सूची पेस गरे त्यही दिन नै राष्ट्रपतिलाई नतिजा बुझाउने तयारी भइरहेको पनि यादवले जनाए। तर त्यसदिन सबै दलले सूची बुझाउन नसके २ गतेसम्मका लागि थप समय दिने र २ गते साँझ राष्ट्रपतिलाई जसरी पनि नतिजा बुझाउने उनले बताए।